भारत भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कृत्रिम बुद्धिमत्ता (एआई), सामाजिक सञ्जाल प्लेटफर्महरू र तिनका प्रमुखहरूमाथि खुला आलोचना गरेका छन्। उनले भने, ‘यदि मानिसहरूलाई आफूलाई कस्तो सामग्री किन देखाइँदैछ भन्ने थाहा छैन भने, त्यो अभिव्यक्ति स्वतन्त्रता निरर्थक हुन्छ।’
म्याक्रोंका अनुसार समस्या अभिव्यक्ति स्वतन्त्रतामा होइन, बरु ती एल्गोरिदममा छ जसले प्रयोगकर्ताले के हेर्ने र कुन दिशातर्फ जाने भन्ने निर्णय गर्छ। केही प्रविधि कम्पनीहरूले आफूलाई अभिव्यक्ति स्वतन्त्रताको समर्थक बताउने तर एल्गोरिदमलाई आफ्नै नियन्त्रणमा राख्ने गरेको उनले आरोप लगाए।
सामाजिक सञ्जाल एल्गोरिदम भनेको नियम र निर्देशनहरूको समूह हो, जसले प्लेटफर्ममा सामग्रीलाई छान्ने, प्राथमिकता दिने र व्यवस्थित गर्ने काम गर्छ। यसले प्रयोगकर्ताको अघिल्लो व्यवहार, रुचि–अरुचि र सहभागिताको विश्लेषण गरेर फिडमा सबैभन्दा सान्दर्भिक सामग्री देखाउँछ।
म्याक्रोंले चेतावनी दिँदै भने, यदि मानिसहरूलाई एल्गोरिदम कसरी बनाइयो, कसरी परीक्षण र प्रशिक्षण गरियो भन्ने थाहा छैन भने, त्यसले उनीहरूलाई कुन दिशामा लैजाँदैछ भन्ने पनि स्पष्ट हुँदैन। यसको लोकतान्त्रिक परिणाम अत्यन्त गम्भीर हुन सक्छ।
उनले प्लेटफर्महरूले आफूलाई तटस्थ दाबी गर्ने तर चुपचाप प्रयोगकर्तालाई झन् बढी चरमपन्थी सामग्रीतर्फ धकेल्ने प्रवृत्तिलाई पनि अस्वीकार गरे।
उनले भने, ‘यदि तपाईंलाई कस्तो तरिकाले तथाकथित ‘फ्री स्पीच’तर्फ लैजाँदैछ भन्ने थाहा छैन भने, त्यो फ्री स्पीच होइन। विशेषगरी, यदि तपाईंलाई एउटा घृणात्मक अभिव्यक्तिबाट अर्को घृणात्मक अभिव्यक्तितर्फ पु¥याइँदैछ भने।’
म्याक्रोंले पारदर्शी व्यवस्था चाहेको बताए, जहाँ फरक–फरक विचारबीच पुग्ने बाटो स्पष्ट होस्। साथै उनले जातीय र घृणात्मक सामग्री नियन्त्रण गर्न सुरक्षात्मक उपायहरू आवश्यक रहेको उल्लेख गरे। ‘म सार्वजनिक व्यवस्था कायम राख्न चाहन्छु। म जातिवादी र घृणात्मक अभिव्यक्तिबाट बच्न चाहन्छु,’ उनले भने।
म्याक्रोंको सरकारले यसअघि पनि फ्रान्स र युरोपेली संघमा अनलाइन प्लेटफर्महरूमाथि कडा निगरानीको वकालत गर्दै आएको छ। उनका अनुसार नियन्त्रणबिहीन एल्गोरिदमले प्रयोगकर्तामात्र होइन, लोकतान्त्रिक स्थायित्वका लागि समेत जोखिम सिर्जना गर्न सक्छ। एजेन्सी
प्रकाशित: ७ फाल्गुन २०८२ ०९:१३ बिहीबार





