४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी र पूर्वप्रधानमन्त्री दोषी ठहर

दक्षिण कोरियाका अपदस्थ पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन ही र पूर्वप्रधानमन्त्री हान डक–सूलाई विशेष अभियोजकहरूले शुक्रबार दोषी ठहर गरेका छन्।  

यो कारवाही युनद्वारा सन् २०२४ डिसेम्बरमा गरिएको मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक संकटसँग सम्बन्धित अनुसन्धानको हिस्सा हो।  

युनले मार्सल ल घोषणा गरेर विपक्षी बहुमतको संसदलाई दबाउन खोजेका थिए, जसले देशमा महिनौं अशान्ति ल्यायो।  

उनलाई महाभियोग लगाइएपछि अप्रिलमा पदच्युत गरियो र गत महिना पुनः पक्राउ गरिएको हो। नयाँ सरकारले भ्रष्टाचार र मार्सल लसम्बन्धी मुद्दा छानबिन गर्न तीन विशेष अभियोजक नियुक्त गरेको छ।  

विशेष अभियोजक मिन जोङ–कीको टोलीले किमलाई वित्तीय नियम उल्लंघन र घुसखोरीको आरोप लगाएको छ। अर्का विशेष अभियोजक चो युन–सुकको टोलीले पूर्वप्रधानमन्त्री हानलाई मार्सल ल लागू गर्न युनलाई उक्साएको, आधिकारिक कागजात नष्ट गरेको र शपथअन्तर्गत झूट बोलेको अभियोग लगाएको छ।  

यस प्रकरणमा पूर्व रक्षामन्त्री किम योङ ह्युनसहित धेरै उच्च अधिकारीमाथि आरोप लागेको छ। संसदमा सेना पठाएको, सांसदहरूलाई मतदानबाट रोक्ने प्रयास गरेको र बाढी उद्धार अभियानमा मरीनको मृत्यु ढाकछोप गरेको जस्ता विषयमा पनि अनुसन्धान भइरहेको छ।  

हानलाई पक्राउ गर्न अदालतलाई अनुरोध गरिएको भए पनि अदालतले भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना न्यून रहेको देखाउँदै अस्वीकार गरिसकेको छ। तर विशेष सल्लाहकार पार्क जी–यङले हानले युनको आदेशलाई वैधता दिन सक्रिय भूमिका खेलेको दाबी गरेका छन्।  

युन र किम आपराधिक मुद्दामा एकैपटक जेल जान सक्ने पहिलो पूर्वराष्ट्रपति दम्पती बन्ने सम्भावना बढेको छ। आलोचकहरूले युनको कदम आंशिक रूपमा किमविरुद्धका भ्रष्टाचारका आरोपबाट ध्यान हटाउने प्रयास थियो कि भन्ने प्रश्न उठाएका छन्।  

किम र युनमाथि सन् २०२२ को उपचुनावमा मनपर्ने उम्मेदवारलाई समर्थन गर्न पार्टीभित्र अनुचित प्रभाव पारेको र सर्वेक्षण डाटा हेरफेर गरिएको आरोपसमेत छ। किमले माफी मागेका थिए तर आफूविरुद्धका आरोप अस्वीकार गर्ने संकेत दिएका छन्।  

हानले युनको बर्खास्तीपछि कार्यवाहक सरकारको नेतृत्व गरेका थिए तर राष्ट्रपतिको मनोनयनमा असफल हुँदै पदत्याग गरेका थिए। एपी

प्रकाशित: १३ भाद्र २०८२ १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App