न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न सपरिवार अस्ट्रेलिया बस्ने तयारीमा छिन्। अस्ट्रेलियाली घरजग्गासम्बन्धी वेबसाइटहरूका अनुसार उनी सिड्नीको उत्तरी तटीय क्षेत्रमा घर खोजिरहेकी छिन्।
उनलाई आफ्ना पति क्लार्क गेफोर्डका साथ सिड्नीका कर्ल कर्ल र फ्रेसवाटर क्षेत्रमा घर हेरिरहेको अवस्थामा देखिएको थियो। हाल कर्ल कर्लमा घरको औसत मूल्य ४१ लाख अस्ट्रेलियाली डलर र फ्रेसवाटरमा ३९ लाख अस्ट्रेलियाली डलर रहेको छ।
जसिन्डाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो परिवार विगत केही वर्षदेखि भ्रमणमा थियो। हालका लागि उनीहरूले अस्ट्रेलियालाई आफ्नो आधार बनाउँदैछन्। त्यहाँ उनीहरूको कामको जिम्मेवारी पनि छ र यसले उनीहरूलाई न्युजिल्यान्डको नजिक रहने अवसर पनि दिनेछ।’
उनी २६ अक्टोबर २०१७ देखि २५ जनवरी २०२३ सम्म न्युजिल्यान्डको प्रधानमन्त्री थिइन्। जसिन्डा, क्लार्क र उनकी सात वर्षीया छोरी निभ यसअघि अमेरिकामा बसेका थिए, जहाँ जसिन्डाले हावर्ड विश्वविद्यालयमा काम गरेकी थिइन्। उनी प्रिन्स विलियमको अर्थसट प्राइजको संरक्षक समेत हुन्।
सन् २०२५ को मार्चमा उनले अक्सफोर्ड विश्वविद्यालयको ब्लाभातनिक स्कुल अफ गभर्मेन्टमा विशिष्ट सदस्य र विश्व नेताहरूको समूहको सदस्यको रूपमा पदभार ग्रहण गरेकी थिइन्। गत वर्ष उनले आफ्नो संस्मरण ‘अ डिफरेन्ट काइन्ड अफ पावर’ र बालबालिकाका लागि ‘मम्स बिजी वर्क’ नामक पुस्तक पनि प्रकाशित गरेकी थिइन्।
प्रकाशित: १४ फाल्गुन २०८२ १९:५६ बिहीबार





