२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाकी पूर्वप्रथम महिला पक्राउ, इतिहासमै पहिलो घटना

फाइल तस्बिर

दक्षिण कोरियाकी पूर्वप्रथम  महिला किम किओन हिलाई पूँजी बजार प्रभावित गर्ने र भ्रष्टाचारलगायत विभिन्न अभियोगमा मङ्गलबार राति पक्राउ गरिएको छ।  

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीय किमविरुद्ध पक्राउ पुर्जी जारी गर्न अभियोजकको अनुरोधको पुनरावलोकन गरेको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो। अभियोजकले किमको कथित ‘गैरकानुनी कार्य’ बारे ८४८ पृष्ठलामो राय पेश गरेपछि प्रमाण नष्ट गर्न सक्ने खतरा रहेको भन्दै पक्राउ पुर्जी जारी गरिएको हो।  

उनको पक्राउसँगै दक्षिण कोरियाको इतिहासमा पहिलो पटक एक पूर्वराष्ट्रपति र प्रथम महिला जेलमा परेका छन्। किममाथि लगाइएको अभियोगमा पूँजी बजार र वित्तीय लगानीसम्बन्धी कानूनका साथै राजनीतिक कोषसम्बन्धी कानुनको उल्लङ्घन गरेको पनि उल्लेख छ।  

गत डिसेम्बर ३ मा पूर्वराष्ट्रपति युन सुक योलले संसदमा सैनिक तैनाथ गरी संसदीय प्रक्रिया अवरुद्ध पार्न खोजेको तर विपक्षी सांसदले सुरक्षाकर्मीको हस्तक्षेपका बाबजुद संसदमा प्रवेश गरी उनको गैर–कानुनी कदमविरुद्ध मतदान गरेका थिए। उनविरुद्ध पछि महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो भने महाभियोगको प्रस्ताव दुई तिहाई मतले पारित भएपछि उनलाई पक्राउ गरिएको थियो।  

पूर्वराष्ट्रपति योलले आश्चर्यजनक सैनिक शासन घोषणा गरेपछि भएको यो गिरफ्तारी दक्षिण कोरियाको इतिहासमा नै पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुवैजना बन्दी बनेको पहिलो घटना हो।  

पूर्वउच्च अभियोजकसमेत रहेका पूर्वराष्ट्रपति युनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो र मार्शल ल को घोषणाको कारण पदबाट हटाइएको थियो। उनको पक्राउपछि रिक्त रहेको राष्ट्रपति पदका लागि जूनमा मध्यावधि चुनाव भएको थियो।  

पूर्वराष्ट्रपति युन जुलाई १० देखि पक्राउ परेका छन् र अहिले हिरासतमा छन्। बुधबार सरकारी वकिलको कार्यालय पुगेकी किमले भनिन्, ‘कुनै महत्वको व्यक्ति नभए पनि राष्ट्रको लागि समस्या सिर्जना गरेको भए म क्षमा माग्छु।’ पूँजी बजार हेरफेरमा भूमिका खेलेको विवादले लामो समयदेखि किमलाई घेरेको छ।  

सन् २०२२ मा एक जना बामपन्थी पास्टरले उनलाई दिएको डायर ह्यान्डब्याग उपहारसहितको भिडियो खिचेपछि सार्वजनिक आलोचना सुरु भएको थियो।  

उनमाथि युनको पार्टीमा सांसदको मनोनयन प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि लगाइएको छ, जुन निर्वाचन कानूनको उल्लङ्घन हो। राष्ट्रपतिका रूपमा युनले विपक्षी नियन्त्रित संसदले पारित गरेका तीन वटा विशेष अनुसन्धान विधेयकमा भिटो लगाएका थिए। जसमा किममाथि लागेको आरोपको छानबिन गर्न खोजिएको थियो। त्यसको एक हप्तापछि युनले असफल सैनिक शासनको घोषणा गरेका थिए।  

जेलको नियमअनुसार किमले आफ्नो सामान्य लुगाबाट जेलको खाकीको कपडा लगाउनुपर्नेछ भने कैदीको नम्बर पनि तोक्नुपर्नेछ। दक्षिण कोरियामा गर्मीको लहर चलिरहँदा पूर्वप्रथम  महिलालाई १० वर्ग मिटर (१०७ वर्ग फिट) को एकान्त कक्षमा राखिएको छ, जसमा पङ्खा छ तर वातानुकूलन छैन।  

जेलको आधिकारिक तालिका अनुसार उनलाई रोटी, जाम र ससेजसहित नियमित ब्रेकफास्ट दिइएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार उनको कोठामा खान र पढ्नका लागि एउटा सानो टेबल, एउटा शेल्फ, एउटा सिङ्क र एउटा शौचालय छ, तर ओछ्यान छैन।  

उनलाई सामान्यतया उनको पतिसरह नै कैदी गृहमा राखिने भए तापनि अभियोजकले सोमबार उनलाई २० किलोमिटर टाढाको छुट्टै हिरासतमा राख्न अनुरोध गरेका थिए।  

पक्राउपुर्जी जारी भएपछि प्रथम महिलाको पूर्वराष्ट्रपतिको परिवारका लागि दिइएको सुरक्षा सेवाको सुरक्षा तुरुन्तै समाप्त गरिएको थियो।  

कानुनविद् किम नाम–जुले एएफपीसँग कुरा गर्दै अभियोजनकर्ताले किमलाई २० दिनसम्म थुनामा राख्न सकिने बताएका छन्। वकिल नाम–जुले भने, ‘किममाथि अभियोग अनुसार उनलाई कम्तीमा छ महिनासम्म हिरासतमा राख्न सकिनेछ।’  

पूर्वप्रथम महिलाले वारेन्टलाई गैरकानुनी भन्दै अदालतमा चुनौती दिन सक्ने व्यवस्था दक्षिण कोरियाको कानुनी प्रावधान छ। वकिल नाम–जुले भने, ‘तर हालको परिस्थितिलाई हेर्दा, प्रमाण नष्ट हुने उच्च जोखिम देखिन्छ, जसले गर्दा वारेन्ट रद्द हुने र व्यक्तिलाई रिहा गर्ने सम्भावना कम हुन्छ।’  

‘अर्को विकल्प जमानत हो, तर प्रमाण नष्ट गर्नेबारे चिन्ता भएको अवस्थामा यो अनुमति पनि दिइएको छैन।’ एएफपी

प्रकाशित: २८ श्रावण २०८२ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App