कतारलाई विश्वको सबैभन्दा धनी र प्रभावशाली राष्ट्रमध्ये एकका रूपमा स्थापित गर्ने पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। सन् १९९५ मा सत्ता सम्हालेका उनी कतारमा राजनीतिक, आर्थिक र सामाजिक सुधारका मुख्य योजनाकार मानिन्थे।
उनले देशको विशाल प्राकृतिक ग्यास सम्पत्तिलाई सदुपयोग गर्दै कतारको विकास र शिक्षाको जग बसालेका थिए। उनको शासनकालमा कतारको कुल गार्हस्थ्य उत्पादन २४ गुणाभन्दा बढीले वृद्धि भएको थियो। नर्थ फिल्डको उत्पादन क्षमता बढाएसँगै सन् २००६ सम्ममा कतार तरल प्राकृतिक ग्यासको विश्वकै सबैभन्दा ठूलो निर्यातकर्ता राष्ट्र बनेको थियो।
शेख हमदको कार्यकालमा कतार फाउन्डेसनको स्थापना, अल जजीराको सुरुवात र कतारको पहिलो स्थायी संविधानको घोषणा जस्ता महत्वपूर्ण काम भएका थिए। उनकै नेतृत्वमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको थियो, जुन कुनै पनि अरब राष्ट्रका लागि पहिलो थियो। साथै, नगरपालिका चुनावमा महिलालाई मतदान र उम्मेदवार बन्ने अधिकार दिएर उनले समाजमा ठूलो परिवर्तन ल्याएका थिए।
सन् १९५२ मा दोहामा जन्मिएका शेख हमदले बेलायतको स्यान्डहर्स्टबाट सैन्य शिक्षा लिएका थिए। सन् १९७७ मा रक्षामन्त्री बनेका उनले १९९५ मा अमिरका रूपमा सत्ता सम्हालेका थिए। त्यसपछि सन् २०१३ मा उनले आफ्ना छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गरे।
सत्ता हस्तान्तरणको समयमा उनले ‘यस मातृभूमिका सन्तानहरू, भविष्य तपाईंहरूको अगाडि छ, किनकि तपाईंहरू नयाँ युगमा प्रवेश गर्नुहुन्छ जहाँ युवा नेतृत्वले झण्डा फहराउँछ’ भन्दै आफ्नो निर्णय सुनाएका थिए।
शेख हमद कूटनीतिक मध्यस्थकर्ताका रूपमा पनि चर्चित थिए। डार्फर द्वन्द्व, लेबनानी राजनीतिक विवाद र प्यालेस्टिनी समूहबिचको फाटो मेटाउन उनले सक्रिय भूमिका खेलेका थिए। उनको कार्यकालमा कतारले तालिबानका लागि कार्यालय खोलेको थियो, जसले पछि अमेरिका र तालिबानबिचको वार्ताको ढोका खोलेको थियो। यसबाहेक 'अरब स्प्रिंग' का बेला लोकतन्त्र समर्थकहरूलाई समर्थन गर्ने सरकारहरूमध्ये कतार एक थियो। एजेन्सी
प्रकाशित: २८ असार २०८३ १३:०२ आइतबार





