भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफु हिमताल फुटेर हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) आउँदा ठूलो क्षति भएको छ। बाढीको तीव्र बहावले गासाको प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्साचु’ पूर्ण रूपमा बगाएको छ।
त्यस्तै, पुनाखा–गासा राजमार्गको एउटा हिस्सा भत्किएपछि यातायात बन्द गरिएको छ। लाया जोड्ने सडकमा समेत क्षति पुगेको छ। अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन।
हिमताल फुटेपछि संकोश नदीको जलस्तर बढेको छ। उक्त नदी भारतको पश्चिम बंगाल र असम हुँदै बग्छ। दुवै राज्यका सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ।
पश्चिम बंगालको अलिपुरद्वारमा १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान र राहत शिविरमा सारिएको छ। प्रशासनले साइरन बजाएर स्थानीय बासिन्दालाई सतर्क गराइरहेको छ। राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र विपद् व्यवस्थापनका टोली परिचालन गरिएको छ।
प्राप्त जानकारीअनुसार बिहीबार राति करिब ८:१५ बजे सिन्ताफु हिमतालबाट अचानक पानी बाहिर निस्कन थालेको थियो। उक्त हिमताल भुटानका १७ अति संवेदनशील हिमतालमध्ये एक हो।
पानीको तीव्र बहावले स्थानीय सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ। अहिले हिमतालबाट पानी बाहिरिनुको कारण, बाढीमा बगेको पानीको मात्रा र भएको क्षतिको आकलन भइरहेको छ।
प्रारम्भिक सूचनामा हिमतालबाट निस्किएको बाढीको पानी ६ देखि ८ घण्टाभित्र भारत–भुटान सीमासम्म पुग्न सक्ने आशंका गरिएको थियो। उक्त पानी मो छू नदी हुँदै संकोश नदीमा पुग्छ। संकोश नदी त्यसपछि भारत प्रवेश गर्छ।
यसै कारण पश्चिम बंगालका अलिपुरद्वार र जलपाइगुडी तथा असमको धुबरीसहित नदी आसपासका क्षेत्रमा सतर्कता बढाइएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ ०९:५४ शुक्रबार





