अमेरिकाको एरिजोनास्थित ग्रान्ड क्यान्यनमा अचानक आएको भीषण बाढीमा परी दुई जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार एक जना अझै बेपत्ता छन्। बाढीपछि ८२ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। गत साता भारी वर्षापछि आएको बाढीले ग्रान्ड क्यान्यनका पदमार्ग, फुटब्रिज र पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समेत ठूलो क्षति पुर्याएको छ। दुर्गम क्षेत्रमा फसेका पदयात्रीको खोजी तथा उद्धार कार्य जारी छ।
मृतकमध्ये टेक्सासका जोन गिउस्टीको मात्र पहिचान खुलेको छ। उनी दुई साथी ब्रेन्ट रोसेनक्रान्ज र टिमोथी एलेन स्मिथसँग ग्रान्ड क्यान्यनमा पदयात्राका लागि गएका थिए। तीनै जना स्थानीय समयअनुसार शुक्रबार ग्रान्ड क्यान्यन पुगेका थिए। उनीहरूले घाटीको तल्लो क्षेत्रमा दुई रात बिताउने, पदयात्रा गर्ने र माछा मार्ने योजना बनाएका थिए।
परिवारका अनुसार तीनै जनाले यात्राका क्रममा परिवारसँग सम्पर्क गरेका थिए। त्यसपछि भने उनीहरूसँग सम्पर्क हुन सकेन। गिउस्टीको परिवारले उनलाई तीन छोरीका बुबाका रूपमा सम्झिएको छ।
बाढी आएपछि ग्रान्ड क्यान्यनको ब्राइट एन्जल क्यान्यन र आसपासका क्षेत्रमा रहेका पदयात्रीलाई सुरक्षित स्थानतर्फ जान भनिएको थियो। खोलाको पानी एक्कासि बढेपछि धेरै पदयात्रीले भागेर ज्यान जोगाएका थिए।
पदयात्री एरिका भियोलाले बाढी आउँदा आफूहरूलाई तत्काल भाग्न भनिएको बताएकी छन्। उनीहरू सुरक्षित स्थानतर्फ जाँदै गर्दा केही समयमै आफूहरूले प्रयोग गरेको फुटब्रिज बाढीले बगाएको थियो। बाढीले ब्राइट एन्जल क्रिकमाथिका अधिकांश फुटब्रिज नष्ट गरेको छ। यसका कारण क्रिक पार गर्ने पैदल यात्रुको आवतजावत प्रभावित भएको छ।
बाढीपछि स्थानीय समयअनुसार शनिबार ४५ जना र स्थानीय समयअनुसार आइतबार थप ३७ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। सुरुमा करिब १५ जना बेपत्ता भएको बताइएको थियो। तर खोजी तथा उद्धार अभियान अघि बढ्दै जाँदा अधिकांशको अवस्था पत्ता लागेको थियो। स्थानीय समयअनुसार सोमबार साँझसम्म एक जना बेपत्ता व्यक्तिको खोजी भइरहेको थियो।
ग्रान्ड क्यान्यनभित्र सडक नभएकाले खोजी तथा उद्धार कार्य कठिन बनेको छ। दुर्गम क्षेत्रमा पैदल, खच्चर वा हेलिकप्टरबाट मात्र पुग्न सकिन्छ। खराब मौसमका कारण उद्धारमा थप समस्या भएको अधिकारीहरूले बताएका छन्। बाढीले ग्रान्ड क्यान्यनको मुख्य पानी आपूर्ति पाइपलाइनमा पनि ठूलो क्षति पुर्याएको छ।
पाइपलाइनमा क्षति भएपछि पार्कभित्रका लज र होटलमा पर्यटकलाई बस्न रोक लगाइएको छ। त्यहाँ वर्षभरि बस्ने करिब एक हजार ६ सय मानिसका लागि पनि आपत्कालीन पानी प्रतिबन्ध लागू गरिएको छ।
ग्रान्ड क्यान्यनमा हरेक वर्ष लाखौं पर्यटक पुग्छन्। गर्मीयाममा मनसुनका कारण यहाँ अचानक बाढी आउने जोखिम बढी हुन्छ। सफा देखिएको मौसम केही समयमै मुसलधारे वर्षामा बदलिन सक्छ।
पछिल्लो बाढीपछि पनि थप भारी वर्षाको सम्भावना रहेकाले अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्। दुर्गम र भिरालो भूभागका कारण सामान्य वर्षासमेत केही क्षेत्रमा तीव्र बाढीको रूप लिन सक्ने विज्ञहरूले बताएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १६ भाद्र २०८३ १०:३१ मंगलबार





