पाकिस्तानको खैबर पख्तुनख्वामा अचानक आएको बाढीले विनाश मच्चाउँदा कम्तीमा १८९ जनाको मृत्यु भएको छ भने धेरै बेपत्ता भएका छन्।
उद्धारमा खटिएको एक हेलिकोप्टर दुर्घटना हुँदा थप पाँच जनाले ज्यान गुमाएको पाकिस्तानी सञ्चारमाध्यमले जानकारी दिएका छन्। प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका अनुसार जुनको अन्त्यदेखि, मनसुनी वर्षाले देशभर, विशेष गरी खैबर पख्तुनख्वा र उत्तरी क्षेत्रमा, विनाशकारी बाढी, पहिरोले ठूलो क्षति भएको छ। प्रान्तभर मृत्यु हुनेमा १६३ पुरुष, १४ महिला र १२ बालबालिका छन्।
बाढीले ४५ घर, तीन विद्यालय र आठ अन्य संरचना ध्वस्त भएका छन्। एजेन्सीको प्रतिवेदनअनुसार, ‘३७ घर आंशिक रूपमा र सात पूर्ण रूपमा नष्ट भएका छन्।’ प्रतिवेदनमा अगस्ट २१ सम्म भारी वर्षा जारी रहने सम्भावना रहेको उल्लेख छ। ‘खैबर पख्तुनख्वाका मुख्यमन्त्रीको विशेष निर्देशनमा, वर्षा र बाढीबाट प्रभावित जिल्लाहरूका लागि राहत कोष जारी गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ।
बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूका लागि कुल ५० करोड पाकिस्तानी रुपैयाँ जारी गरिएको छ। यसअघि, खैबर पख्तुनख्वा सरकारले बाजौरमा आपूर्ति सामग्रीसहितको हेलिकप्टर पठाएको थियो। तर विमानसँग सम्पर्क विच्छेद भएको थियो। त्यसपछि एक विज्ञप्ति जारी गर्दै हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी गराइएको हो।
दुई पाइलट र तीन चालक दलका सदस्य उक्त दुर्घटनामा ज्यान गएको छ। ‘यस दुखद दुर्घटनाको परिणामस्वरूप, दुई पाइलटसहित पाँच यात्रुको मृत्यु भयो,’ मुख्यमन्त्री अली अमिन गण्डापुरलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ। एजेन्सी
प्रकाशित: ३० श्रावण २०८२ २०:३३ शुक्रबार





