भारतको असमस्थित गुवाहाटीमा सोमबार राति एक होटलमा एक व्यक्तिले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये एउटै परिवारका चार जना रहेका छन्। उनीहरूमा होटल सञ्चालककी पत्नी र छोरा पनि छन्।
घटना बोरा सर्भिस क्षेत्रमा रहेको बिलास इन होटलमा भएको हो। प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार होटलको लिज सम्झौतासँग सम्बन्धित सम्पत्ति विवादका कारण गोलीकाण्ड भएको हो। आरोपित घनकान्त गोगोईले गत वर्ष उक्त होटल लिज (भाडा) मा लिएका थिए। पछिल्लो समय लिज सम्झौताको विषयलाई लिएर उनको होटल मालिकको परिवारसँग विवाद चलिरहेको थियो।
सोमबार राति पनि उनीहरूबीच विवाद भएको थियो। त्यसक्रममा आरोपितले आफ्नो लाइसेन्स प्राप्त पेस्तोलबाट छ जनामाथि गोली चलाएका थिए।
प्रहरीले आरोपितलाई पक्राउ गरेको छ। गोली चलाउन प्रयोग गरिएको .३२ बोरको लाइसेन्स प्राप्त पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अर्का एक अधिकारीका अनुसार मृतकमध्ये हेलेना भराली, देबोरशी कश्यप र नारायण दासको पहिचान खुलेको छ। बाँकी मृतकको पहिचान गर्ने प्रक्रिया जारी रहेको छ।
गुवाहाटी मेडिकल कलेज तथा अस्पतालका एक वरिष्ठ चिकित्सकका अनुसार गोलीकाण्डमा बाँच्न सफल व्यक्तिको पहिचान सत्येन पाठकका रूपमा भएको छ। उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको चिकित्सकले बताएका छन्।
प्रकाशित: १० कार्तिक २०८३ ०८:३१ मंगलबार





