१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

द्वन्द्व सकिए पनि विस्फोटक पदार्थको जोखिम कायमै, पाइप काट्दा १३ वर्षीय बालकले पैताला गुमाए

द्वन्द्व सकिएको वर्षौँ बितिसकेको छ। तर, त्यसबेला प्रयोग गरिएका विस्फोटक पदार्थका अवशेष अझै सर्वसाधारणको जीवनका लागि जोखिम बनेका छन्।

जुम्लाको हिमा गाउँपालिका-२ ओदी गाउँमा वर्षौँदेखि घरभित्र रहेको फलामको पाइप काट्ने क्रममा भएको विस्फोटले यसको भयावह परिणाम देखाएको छ। १३ वर्षीय बलबहादुर रोकायाले दाहिने खुट्टाको पैताला गुमाएका छन्। गाउँकै नेत्रज्योति माध्यमिक विद्यालय ओदीमा कक्षा ६ मा अध्ययनरत उनी अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हाडजोर्नी विभागको १० नम्बर शय्यामा उपचाररत छन्।

गत कार्तिक २ गते बिहान करिब साढे ९ बजे खानेपानीको धारा बनाउन फलामको पाइप काट्ने क्रममा अचानक विस्फोट भएको थियो। पाइपभित्र बारुद रहेको परिवारलाई थाहा थिएन। सामान्य पाइप ठानेर काट्न खोजिएको वस्तु द्वन्द्वकालीन सकेट बम रहेछ। विस्फोटबाट बलबहादुरको खुट्टामा गम्भीर चोट लागेपछि चिकित्सकले पैताला काटेर फाल्नुपर्‍यो। सामान्य काम गर्न खोज्दा बालकले भोग्नुपरेको यो पीडाले द्वन्द्वकालीन विस्फोटक पदार्थको जोखिम अझै समाप्त नभएको देखाएको छ।

बलबहादुरका बुवा ३२ वर्षीय दलबहादुर रोकाया पेसाले मिस्त्री हुन्। दसैँका बेला घर सफा गर्ने क्रममा नाता पर्ने जुद्ध थापाको पुरानो घरमा करिब डेढ मिटर अर्थात् तीन हात लामो फलामको पाइप भेटिएको थियो। द्वन्द्वकालमा तत्कालीन माओवादीले प्रयोग गर्ने गरेको उक्त घर जुद्ध थापाले आफन्तबाट खरिद गरेका थिए। ओदी गाउँमा त्यसबेला तत्कालीन नेकपा माओवादीको जिल्ला कार्यालयसमेत रहेको थियो। घरभित्रै रहेको पाइपलाई खानेपानीको धारा बनाउन प्रयोग गर्ने सोचले काट्न खोजिएको थियो। तर, पाइपभित्र लुकेको बारुदले बालकको जीवनमा गम्भीर चोट पुर्‍यायो।

जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पाइपभित्र लामो समयअघि बारुद भरिएको थियो। पाइपको एकतर्फको प्वाल खुला र अर्कोतर्फको भाग पूर्ण रूपमा बन्द थियो। बन्द भाग काटेर धारामा जोड्ने क्रममा बारुद सल्किएपछि सकेट बम विस्फोट भएको उनले बताए। ‘पाइप काट्ने क्रममा पाइपभित्र रहेको बारुद सल्किएर सकेट बम विस्फोट भएको थियो,’ दाहालले भने, ‘पाइपभित्र धेरै समयपहिले बारुद भरिएको रहेछ। त्यही पाइप काट्न खोज्दा विस्फोट हुन पुग्यो।’ उनका अनुसार उक्त सकेट बम द्वन्द्वकालकै हो।

दलबहादुरका अनुसार पाइप करिब ६० मिलिमिटरको फलामे पाइप थियो। त्यसको बन्द भाग काटेर खानेपानीको धारामा जोड्ने तयारी गरिएको थियो। तर, आधा भागसमेत नकाट्दै विस्फोट भयो। परिवारले पुरानो पाइप ठानेको वस्तुभित्र विस्फोटक पदार्थ रहेको जानकारी पाएको थिएन। यही अनभिज्ञता दुर्घटनाको कारण बन्यो।

विस्फोटपछि गम्भीर घाइते बलबहादुरलाई अस्पताल पुर्‍याउन परिवार र स्थानीयले निकै सास्ती खेप्नुपर्‍यो। घरदेखि करिब दुई किलोमिटरसम्म उनलाई पिठ्युँमा बोकेर ल्याइयो। त्यसपछि हिमा गाउँपालिकाको एम्बुलेन्स प्रयोग गरियो। बिच बाटोमा समस्या देखिएपछि पुनः स्ट्रेचरमा बोकेर कोइरेली बजार पुर्‍याउनुपर्‍यो। त्यहाँबाट सिन्जा गाउँपालिकाको एम्बुलेन्समा राखेर सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याइएको थियो।

विस्फोटमा १८ वर्षीय कमल थापा पनि घाइते भएका थिए। सामान्य घाइते कमलको गाउँमै उपचार भइरहेको छ भने बलबहादुरको थप उपचार प्रतिष्ठानमा भइरहेको छ। उपचारका क्रममा रगत आवश्यक परेपछि नेपाली सेनाले तत्काल रगत उपलब्ध गराएको दलबहादुरले बताए।

छोराको उपचारमा अहिलेसम्म करिब ७० हजार रुपैयाँ खर्च भइसकेको छ। परिवारको स्वास्थ्य बिमा छैन। मिस्त्रीको काम गरेर परिवार पाल्दै आएका दलबहादुरलाई छोराको थप उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता छ। बालकले पैताला गुमाउनुपरेको पीडासँगै परिवारले आर्थिक संकट पनि बेहोर्नुपरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक तथा संविधानसभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री नरेश भण्डारीले प्रतिष्ठानको स्वास्थ्य सेवा अवलोकन गर्नुका साथै सकेट बम विस्फोटमा परी पैताला गुमाएका बलबहादुर र उनका अभिभावकसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले प्रतिष्ठानमा उपचाररत अन्य बिरामीसँग पनि भेटघाट गर्दै उपचारको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका थिए।

प्रकाशित: १० कार्तिक २०८३ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App