मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
मलेसियाली अधिकारीका अनुसार मंगलबार दिउँसो बो-१०५ प्रकारको हेलिकप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
मिरीका विपद् व्यवस्थापन समितिका अध्यक्ष गालोङ लुआङले बुधबार जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि गरे। मृतकमध्ये चालक, एक चिकित्सक, एक स्वास्थ्य सहायक र दुई जना नर्स रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर खस्नुअघि त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ। यद्यपि, दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाको अनुसन्धान गर्न हवाई दुर्घटना अनुसन्धान टोली बुधबार घटनास्थल पुग्नेछ।
मलेसियाको दुर्गम स्वास्थ्य सेवा कार्यक्रमले घना जंगल र कठिन भौगोलिक अवस्थाका कारण सडक यातायातको पहुँच नभएका आदिवासी समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। त्यहाँका बासिन्दा स्वास्थ्य सेवाका लागि हवाई यातायातमा ठूलो मात्रामा निर्भर छन्।
यस सेवाअन्तर्गत चिकित्सक, स्वास्थ्य सहायक, नर्सलगायत स्वास्थ्यकर्मीको टोली हेलिकप्टर वा साना विमानमार्फत गाउँ तथा परम्परागत सामुदायिक घरहरूमा नियमित रूपमा पुग्ने गर्छ। स्वास्थ्य टोलीहरू सामान्यतया प्रत्येक महिना वा दुई महिनाको अन्तरालमा दुर्गम बस्तीमा पुग्ने गरेका छन्।
प्रकाशित: २४ भाद्र २०८३ ०९:५८ बुधबार





