बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बिहीबारको चुनावमा निर्णायक जित हासिल गरेको छ। विभिन्न स्थानीय टेलिभिजनका अनुसार बीएनपी र सहयोगीहरूले २९९ मध्ये २०९ देखि २११ सिट जितेका छन्, जसले दुई तिहाइभन्दा बढी बहुमत सुनिश्चित गरेको छ।
जमात-ए-इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले ६८ देखि ७० सिट जितेको छ। १७ वर्ष निर्वासनपछि फर्किएका तारिक रहमानले ढाका-१७ र बोगरा-६ दुवैबाट ठूलो मतान्तरले जितेका छन्। अब उनी प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ। योसँगै ३५ वर्षपछि बांग्लादेशले पुरुष प्रधानमन्त्री पाउने पक्का भएको छ।
यो सन् २०२४ को जेनजी विद्यार्थी विद्रोहपछि पहिलो चुनाव हो, जसले शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्यो। अवामी लिगमाथि प्रतिबन्धित लगाइएको छ। मतदान करिब ४८ प्रतिशत रह्यो।
बीएनपीले नयाँ सरकार गठन गर्ने दाबी गरेको छ। पार्टीले उत्सवको सट्टा शुक्रबार प्रार्थनामा धन्यवाद दिन कार्यकर्तालाई आह्वान गरेको छ। यो जितले बांग्लादेशमा नयाँ युग सुरु गर्ने संकेत गरेको छ।
विद्यार्थी नेता नाहिद इस्लामको नेशनल सिटीजन पार्टी (एनसीपी) ले अपेक्षाकृत कमजोर प्रदर्शन गर्यो। यो पार्टी २०२४ को विद्रोहका प्रमुख विद्यार्थी नेताहरूले गठन गरेका हुन्, जसले युवा मतदाता र सुधारवादी एजेन्डालाई प्रतिनिधित्व गर्ने वाचा गरेको थियो। एनसीपीले ३० सिटमा उम्मेदवारी दिएको थियो। उसले जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनसँग सहकार्य गरेको थियो।
प्रारम्भिक नतिजा अनुसार एनसीपीले ५ देखि ६ सिट मात्र जितेको छ। नाहिद इस्लामले ढाका-११ बाट जित हासिल गरेका छन्। पार्टीले केही क्षेत्रमा नतिजा हेरफेर र धाँधलीको गम्भीर आरोप लगाएको छ, मतगणना पुनस् गर्न माग गरेको छ। अन्य केही विद्यार्थी नेताहरूले पनि सिट जितेका छन्, तर समग्रमा जेनजी र विद्यार्थी दलहरूले ठूलो सफलता हासिल गर्न सकेनन्।
भारतमा निर्वासित हसिनाले ‘पूर्ण नक्कली र असंवैधानिक’ चुनाव गराएको भन्दै युनुस सरकारमाथि गम्भीर आरोप लगाएकी छिन्। उनले यो जनताको मतको अपमान भएको बताइन्।
जमात-ए-इस्लामीका शफिकुर रहमानले नतिजा सम्मान गर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि तारिकले बीएनपी पार्टीलाई पूर्ण नियन्त्रणमा लिएका छन्। उनी शान्त र नीति-केन्द्रित नेताको रूपमा चिनिन्छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १ फाल्गुन २०८२ ०८:१२ शुक्रबार





