मध्यपूर्वको सुरक्षा अवस्था अत्यन्तै नाजुक बनेपछि अमेरिका, चीन र भारत लगायतका विश्वका प्रमुख शक्ति राष्ट्रले आफ्ना नागरिकलाई इरान र इजरायलबाट तत्काल बाहिरिन निर्देशन दिएका छन्।
अमेरिका र इरानबीचको कूटनीतिक वार्ता विफल भएपछि यस क्षेत्रमा ठूलो सैन्य मुठभेड हुने खतरा बढेको हो। यसै क्रममा अमेरिकी विदेश मन्त्रालयले इजरायलमा रहेका गैर-अत्यावश्यक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न आदेश दिएको छ। राजदूत माइक हकाबीले व्यावसायिक उडान उपलब्ध भएसम्म आफ्ना नागरिकलाई तुरुन्त निस्कन आग्रह गरेका छन्।
त्यस्तै, चिनियाँ विदेश मन्त्रालयले इरानमा रहेका आफ्ना नागरिकलाई व्यावसायिक उडान वा सडकमार्गबाट जतिसक्दो चाँडो देश छोड्न भनेको छ। बेइजिङले त्यहाँको सुरक्षा स्थिति ‘अत्यन्त गम्भीर’ रहेको उल्लेख गरेको छ।
तेहरानस्थित भारतीय दूतावासले पनि एक विशेष एडभाइजरी जारी गर्दै इरानमा रहेका आफ्ना नागरिकलाई उपलब्ध यातायातका साधन प्रयोग गरी सुरक्षित रूपमा बाहिरिन सल्लाह दिएको छ। यता युरोपेली राष्ट्र बेलायतले इरानबाट आफ्ना कर्मचारी फिर्ता बोलाएको छ भने जर्मनी, फिनल्याण्ड र साइप्रसले पनि आफ्ना नागरिकलाई समयमै नछाडे उद्धार गर्न नसकिने चेतावनी दिएका छन्।
यो गम्भीर परिस्थितिका पछाडि मुख्य दुई कारण रहेका छन्। पहिलो, ओमान र जेनेभामा भएमा पटकपटक उच्चस्तरीय आणविक वार्ता बिना कुनै निष्कर्ष टुंगिएपछि कूटनीतिक बाटो बन्द भएको छ। दोस्रो, अमेरिकाले भूमध्यसागरमा आफ्नो सबैभन्दा ठूलो विमानवाहक युद्धपोत युएसएस जेराल्ड आर फोर्ड तैनाथ गरेको छ। यसको जवाफमा इरानले पनि आफ्ना क्षेप्यास्त्र र ड्रोन प्रणालीलाई युद्धको अवस्थामा राखेको छ।
बढ्दो तनावका कारण लुफ्थान्सा, इमिरेट्स र ब्रिटिस एयरवेज जस्ता ठूला विमान सेवा प्रदायकले तेहरान र तेल अभिभका उडान रद्द गर्न थालेका छन्। यसले गर्दा विदेशी नागरिकलाई सुरक्षित रूपमा बाहिरिन समयको चाप बढेको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: १५ फाल्गुन २०८२ २३:५४ शुक्रबार





