५ आश्विन २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीन दशकदेखि जवाफको पर्खाइमा परिवार, ५७२ जनाको अवशेष भेटिएको स्थलमा उत्खनन जारी

तस्बिर : बीबीसी

श्रीलंकाको उत्तरी जाफ्नास्थित चेम्मानी क्षेत्रमा उत्खननका क्रममा ५७२ जनाको कंकालका अवशेष भेटिएका छन्। दशकौंदेखि बेपत्ता आफन्तबारे जवाफ पर्खिरहेका परिवारका लागि यो खोजले आशा जगाएको छ।

यो श्रीलंकामा अहिलेसम्म भेटिएको सबैभन्दा ठुलो सामूहिक चिहानस्थल मानिएको छ। गत फेब्रुअरीमा दाहसंस्कार स्थल विस्तार गर्न कामदारहरूले खन्ने क्रममा मानव अवशेष भेटिएपछि अनुसन्धान सुरु भएको थियो। अगस्टसम्म उत्खननको तेस्रो चरण पूरा हुँदा बालबालिका र शिशुसहित ५७२ जनाको कंकालका अवशेष फेला परेको बीबीसीले जनाएको छ।

अवशेषसँगै चुरा, स्कुल झोला र दूधको बोतलजस्ता व्यक्तिगत सामग्री पनि भेटिएका छन्। केही नमुना थप परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ। साथै, डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया पनि अघि बढाइने बताइएको छ।

चेम्मानी क्षेत्र सन् १९८३ देखि २००९ सम्म चलेको श्रीलंकाको गृहयुद्धसँग जोडिएको क्षेत्र हो। द्वन्द्वका क्रममा हजारौं मानिस बेपत्ता भएको भन्दै परिवारहरूले लामो समयदेखि आफ्ना आफन्तबारे जानकारी माग्दै आएका छन्।

जाफ्नाकी जेयारुबी जयपालनका बुबा कान्दैया जयपालन सन् १९९६ मा बेपत्ता भएका थिए। उनको परिवारले करिब तीन दशकदेखि उनीबारे जवाफ खोजिरहेको छ।

‘म धेरै जनासँग चेम्मानी सामूहिक चिहानमा गएँ, आशा थियो कि म केही उत्तरहरू पाउनेछु। हामी मानव अवशेषहरूको विस्तृत फोरेन्सिक विश्लेषण चाहन्छौं,’ उनले भनिन्।

चेम्मानीमा यसअघि पनि उत्खनन भएको थियो। सन् १९९८ मा एक सैनिकले यस क्षेत्रमा सयौं मानिसलाई गाडिएको दाबी गरेपछि गरिएको उत्खननमा १० भन्दा बढी कंकाल भेटिएका थिए। तर त्यसपछि भएको अनुसन्धानले कुनै ठोस निष्कर्ष निकाल्न सकेन।

सन् २०१८ मा मन्नारमा भेटिएको अर्को सामूहिक चिहानमा ३५० भन्दा बढी कंकालका अवशेष भेटिए पनि अनुसन्धानबाट निर्णायक निष्कर्ष आउन सकेको थिएन। त्यसैले अहिलेको अनुसन्धानबाट पनि के निष्कर्ष आउँछ भन्नेमा केही परिवारले शंका व्यक्त गरेका छन्।

श्रीलंकाका न्यायमन्त्री हर्षणा नानयक्काराले चेम्मानीमा उत्खनन जारी राख्ने र अवशेषको विश्लेषण तथा डीएनए परीक्षण गरिने बताएका छन्। उनका अनुसार, सरकारले परिवारबाट डीएनए नमुना संकलन गर्ने प्रक्रिया पनि अघि बढाएको छ।

संयुक्त राष्ट्र संघले श्रीलंकालाई बेपत्ता व्यक्तिको पहिचान र उनीहरूसँग भएको घटनाको सत्य पत्ता लगाउन अन्तर्राष्ट्रिय सहयोग लिन आग्रह गर्दै आएको छ।

प्रकाशित: ५ आश्विन २०८३ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App