१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको तेल प्रशोधन केन्द्रमा विस्फोट : स्थानीयलाई घरभित्रै बस्न निर्देशन

अमेरिकाको टेक्सास राज्यको पोर्ट आर्थर सहरमा रहेको भ्यालेरो तेल प्रशोधन केन्द्रमा विस्फोट भएको छ। स्थानीय समयअनुसार सोमबार साँझ भीषण विस्फोट भएको हो।

यो केन्द्रले दैनिक चार लाख ३५ हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता राख्छ। ह्युस्टन सहरबाट करिब १४५ किलोमिटर पूर्वमा रहेको उक्त केन्द्रबाट कालो धुवाँको ठुलो मुस्लो आकाशमा फैलिएपछि स्थानीय प्रशासनले बासिन्दालाई घरभित्रै सुरक्षित रहन निर्देशन दिएको अमेरिकी सञ्चार माध्यमले जानकारी दिएका छन्। 

पोर्ट आर्थर सहरकी मेयर चार्लोट एम मोसेसका अनुसार विस्फोटमा हालसम्म कसैलाई पनि चोटपटक लागेको छैन, सबै कामदार सुरक्षित छन्। उनले भनिन्, ‘हो, विस्फोट भएको छ तर हामी ठीक छौं। सबै जना सुरक्षित छन्। दमकल टोलीले आगो निभाउने प्रयास गरिरहेको छ।’

प्रारम्भिक अनुसन्धानबाट यो विस्फोट केन्द्रको एक औद्योगिक हिटरमा आएको खराबीका कारण भएको हुन सक्ने देखिएको छ।

इरानसँगको युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा अनिश्चितता बढिरहेको बेला अमेरिकाका ठुलो प्रशोधन केन्द्रमध्ये एकमा यस्तो दुर्घटना भएको हो। एपीका अनुसार यस केन्द्रमा भएको विस्फोटको आवाज यति ठुलो थियो कि वरपरका घरका झ्यालहरू पनि हल्लिएका थिए।

पोर्ट आर्थर सहरले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सूचनामा भनिएको छ, ‘तपाईंहरूको सुरक्षाका लागि कृपया आपत्कालीन टोलीले सबै सुरक्षित भएको घोषणा नगरेसम्म सुरक्षित स्थानमै रहनुहोस्।’ टेक्सास वातावरणीय गुणस्तर आयोगले पनि घटनास्थलमा पुगेर हावाको गुणस्तर जाँच गरिरहेको छ। एजेन्सी 

प्रकाशित: १० चैत्र २०८२ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App