२७ मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एपस्टाइन फाइल : ट्रम्पदेखि क्लिन्टनसम्म भएका नयाँ तस्बिर जारी (फोटोसहित)

अमेरिकी हाउस ओभरसाइट कमिटीका डेमोक्र्याटहरूले शुक्रबार यौन अपराधी जेफ्री एपस्टाइनको सम्पत्तिबाट प्राप्त ९५ हजार नयाँ तस्बिर प्राप्त गरेको जानकारी दिएका छन्। 

यसमध्ये दोस्रो ब्याचका रूपमा १९ वटा तस्बिर सार्वजनिक गरिएको छ। जारी भएका तस्बिरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन, स्टिभ ब्यानन, बिल गेट्स, वुडी एलेन, ल्यारी समर्सलगायत प्रमुख व्यक्तिहरू देखिएका छन्। 

यीमध्ये धेरै तस्बिर यसअघि नै सार्वजनिक भइसकेका थिए। तर कमिटीले पूर्ण समीक्षा गर्दै पीडित महिलाहरूको पहिचान गोप्य राख्न अनुहार लुकाएको छ। कमिटीले आगामी दिनमा थप तस्बिर सार्वजनिक गर्ने योजना बनाएको छ।

तीमध्ये तीन तस्बिरमा ट्रम्प छन् : एउटामा महिलाहरूले घेरेको अवस्थामा (महिलाहरूको अनुहार धमिलो), अर्कोमा एपस्टाइनसँगै उभिएको र तेस्रोमा महिलासँग बसेको (रातो टाई खुकुलो) मा देखिएका छन्। 

क्लिन्टन एपस्टाइन र घिसलेन म्याक्सवेलसँगै पोज दिइरहेको देखिएको छ, जसमा क्लिन्टनको हस्ताक्षर पनि छ। यी तस्बिरमा कुनै गैरकानुनी गतिविधि देखिँदैन र मिति वा स्थान स्पष्ट छैन।

कमिटीका र्‍याङ्किङ सदस्य रोबर्ट गार्सियाले संघीय अधिकारीहरूलाई ढाकछोप गरेको आरोप लगाउँदै न्यायको माग गरेका छन्। उनले भने, ‘यी विचलित पार्ने तस्बिरहरूले एपस्टाइन र विश्वका केही शक्तिशाली व्यक्तिहरूसँगको उनको सम्बन्धको बारेमा अझ बढी प्रश्नहरू उठाउँछन्। अमेरिकी जनताले सत्य थाहा नपाएसम्म हामी आराम गर्ने छैनौं। न्याय विभागले अब सबै फाइलहरू जारी गर्नुपर्छ।’ 

उनले ह्वाइट हाउसको ढाकछोप नीति अन्त्य गरी पीडितहरूलाई न्याय दिनुपर्नेमा जोड दिए।

ट्रम्पले सन् १९९० र २००० को दशकमा एपस्टाइनसँगको सम्बन्ध अस्वीकार गर्दै आएका छन्। उनले एपस्टाइनका गलत कार्य तथा नाबालिग केटीहरूको यौन बेचबिखनबारे आफूलाई थाहा नभएको बताउँदै आएका छन्। न्याय विभागले डिसेम्बर १९ सम्म एपस्टाइनसम्बन्धी सबै फाइल जारी गर्नुपर्नेछ। यसअघि जारी कागजातमा ‘क्लाइन्ट लिस्ट’ नभेटिएको र एपस्टाइनले आत्महत्या गरेको निष्कर्ष छ।

एपस्टाइन फाइलहरू भनेको एपस्टाइन अनुसन्धानका क्रममा प्राप्त सामग्रीहरू (कागजात, सम्पर्क सूची, कल रेकर्ड, च्याट, भिडियो, सहयोगी र ग्राहकहरूका नामहरू तथा अन्य प्रमाणहरू) हुन्। यी मुख्य रूपमा सन् २०१५ मा भर्जिनिया गिफ्रेले घिसलेन म्याक्सवेलविरुद्ध दायर गरेको मानहानि मुद्दासँग जोडिएका छन्। 

जनवरी २०२४ देखि चरणबद्ध रूपमा जारी गरिएका यी फाइलहरूमा उच्च प्रोफाइल व्यक्तिहरूका नाम छन्। तर नाम आउनुले मात्र गलत कार्यको संकेत गर्दैन। फेब्रुअरी २०२५ मा जारी दस्तावेजमा ट्रम्प, माइकल ज्याक्सन, एलेक बाल्डविन, हार्वे वाइन्स्टाइन, एन्ड्रयू कुओमो, मिक जागर, कोर्टनी लभ, नाओमी क्याम्पबेल, जोन केरी, टेड केनेडी, एलन डेरशोविट्ज, डस्टिन हफम्यानलगायतका नाम छन्। उडान लगहरूमा क्लिन्टन, ट्रम्प, केभिन स्पेसी, प्रिन्स एन्ड्रयू आदिका नाम समावेश छन्।

जेफ्री एपस्टाइन अमेरिकाको न्यूयोर्क सहरमा जन्मेका एक परोपकारी अर्बपति थिए। उनले डाल्टन स्कुलमा शिक्षकको रूपमा आफ्नो व्यावसायिक करियर सुरु गरे। सन् १९७६ मा स्कूलबाट निष्कासित भएपछि उनी बैंकिङ र वित्त क्षेत्रमा प्रवेश गरे, जहाँ उनले विभिन्न पद सम्हाले। सन् २००५ मा फ्लोरिडा प्रहरीले एक अभिभावकले एपस्टाइनले आफ्नी १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि अनुसन्धान सुरु गरेको थियो। 

अनुसन्धानले एपस्टाइनले ३६ जना नाबालिग केटीहरूलाई यौन दुर्व्यवहार गरेको खुलासा गर्‍यो, जसमध्ये केही १४ वर्षका पनि थिए। उनले दुई मुद्दामा दोषी स्वीकार गरेका पनि थिए। उनलाई सन् २००८ मा दोषी ठहर गरिएको थियो। तर विवादास्पद याचिका सम्झौताका कारण उनले मात्र १३ महिना जेल बस्नुपर्‍यो। वर्षौंपछि जुलाई २०१९ मा न्यूयोर्क र फ्लोरिडामा नाबालिगहरूको यौन बेचबिखनको आरोपमा उनलाई फेरि पक्राउ गरियो। मुद्दा चलिरहेको बेला अगस्ट २०१९ मा अमेरिकी जेलमा उनले आत्महत्या गरेका थिए। एजेन्सीको सहयोगमा

प्रकाशित: २७ मंसिर २०८२ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App