अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बर १८ मा 'एपस्टाइन फाइल्स ट्रान्सपरेन्सी एक्ट' कानुनमा हस्ताक्षर गरेका थिए।
यसले डिसेम्बर १९ सम्म एपस्टाइनसँग जोडिएका सबै अनक्लासिफाइड कागजात सार्वजनिक गर्न अमेरिकी न्याय विभागलाई आदेश दिएको थियो।
तर विभागले पूर्ण रूपमा जारी नगरेको भन्दै दुवै पक्षका सांसदहरूले कडा आलोचना गरेका छन्। विभागले यो पहिलो चरण मात्र भएको र थप आउने बताएको छ।
अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनका धेरै तस्बिरहरू बाहिरिएका छन्। सबैभन्दा चर्चित स्विमिङ पुलमा तस्बिर हो, जहाँ उनी आराम गर्दै छन्। एक महिलाको अनुहार लुकाइएको छ। विभागले ती युवती पीडित भएको भनेको छ। क्लिन्टन घिस्लेन म्याक्सवेलसँग स्विमिङ पुलमा, माइकल ज्याक्सनसँग र अन्य सामाजिक अवस्थामा पनि देखिएका छन्।
जारी भएका तस्बिरमा पप स्टार माइकल ज्याक्सन एपस्टाइनसँग समेत देखिएका छन्।
एपस्टाइन प्रकरणमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका केही तस्बिर यसअघि नै जारी भएका थिए। अर्बपति बिल गेट्सका तस्बिर पनि जारी गरिएका थिए।
पछिल्लो पटक जारी तस्बिरमा देखिएका अन्य चर्चित अनुहारमा तत्कालीन बेलायती राजकुमार एन्ड्रयू र सारा फर्गुसन, हलिउड अभिनेता केभिन स्पेसी र क्रिस टकर, संगीतकार मिक ज्यागर र डायना रोस, अर्बपति रिचर्ड ब्रान्सन आदि रहेका छन्। यी तस्बिरहरू मुख्य रूपमा सामाजिक भेटघाटका छन्, यौन अपराधसँग जोडिएका प्रमाणित छैनन्।
तर अपेक्षा गरिएको 'क्लाइन्ट लिस्ट' (एपस्टाइनका ग्राहकहरूको सूची) भने बाहिर आएको छैन। विभागले यसअघि नै यस्तो लिस्ट नभएको बताएको थियो। धेरै कागजातहरू कालो पारिएका छन्। १२ सयभन्दा बढी पीडितहरूको पहिचान लुकाइएको छ। उप-न्यायमन्त्री टोड ब्लान्चले पीडितहरूको गोपनीयता, चलिरहेको अनुसन्धान र राष्ट्रिय सुरक्षाका कारण केही रोकेको बताए। थप फाइलहरू चाँडै आउने अपेक्षा छ।
जारी सामग्रीमा पुराना एफबीआई उजुरीहरू, एपस्टाइनको घर/टापुका तस्बिरहरू, उडान अभिलेख र सम्पर्क सूचीहरू छन्। क्लिन्टनका प्रवक्ताले यो राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्। समग्रमा धेरै सामग्री पहिले नै सार्वजनिक वा लिक भइसकेका थिए। तर यो रिलिजले एपस्टाइन काण्ड फेरि चर्चामा ल्याएको छ। वेबसाइटमा लाखौँले हेर्न खोज्दा क्र्यास नै भएको थियो।
जेफ्री एपस्टाइन अमेरिकी लगानीकर्ता थिए, जो यौन अपराधमा दोषी ठहरिएका थिए। उनीमाथि नाबालिग केटीहरूमाथि यौन शोषण र तस्करी गरेको आरोप थियो। उनी सन् २०१९ मा अमेरिकी जेलमा मृत भेटिएका थिए।
जानकारी अनुसार एपस्टाइनको शक्तिशाली र चर्चित व्यक्तिहरूसँग घनिष्ठ सम्बन्ध थियो। सोहीकारण लामो समय यसलाई लुकाउन खोजिएको थियो। जेफ्री एपस्टाइनकी पूर्वप्रेमिका घिस्लेन म्याक्सवेलसँग जोडिएका यी तस्बिरहरू फेला परेका थिए। एजेन्सीको सहयोगमा
प्रकाशित: ५ पुस २०८२ ०९:०४ शनिबार





