२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज

इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणको रुस र चीनले कडा आलोचना गरेका छन्। दुवै देशले द्वन्द्वलाई थप नबढाउन कूटनीतिक समाधानमा फर्किन आह्वान गरेका छन्। 

चीनका विदेशमन्त्री वाङ यीले आफ्ना इजरायली समकक्षी गिदोन सारसँग टेलिफोन वार्तामा इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेका छन्। वाङले वासिङ्टन र तेहरानबीच वार्ता अघि बढिरहेका बेला सैन्य कारबाही सुरु हुनु दुःखद भएको बताएका छन्।  

बल प्रयोगले समस्या समाधान नहुने भन्दै उनले दीर्घकालीन जटिलता आउने हुदाँ चीनले द्वन्द्व विस्तार हुन नदिन र क्षेत्रीय स्थिरता जोगाउन तत्काल युद्धविराम हुनुपर्ने बताएका छन् ।  

बेइजिङले इरानस्थित चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षाबारे पनि चासो व्यक्त गरेको छ। इजरायली पक्षले उनीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।  

यता मस्कोमा आयोजित पत्रकार सम्मेलनमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण नदेखिएको बताएका छन्। उनका अनुसार अमेरिका र इजरायलको आक्रमणले उल्टै आणविक प्रसारको जोखिम बढाउन सक्छ। आणविक हतियारको प्रसार रोक्ने नाममा युद्ध सुरु गर्नुले उल्टै विपरीत परिणाम दिने लाभरोभलेको भनाइ छ । 

रुसले अमेरिका–इजरायलको कारबाहीलाई ‘सार्वभौम राष्ट्रमाथिको पूर्वनियोजित सशस्त्र आक्रमण’ भन्दै निन्दा गरेको छ। साथै, द्वन्द्वको कूटनीतिक समाधानका लागि मध्यस्थता गर्न आफू तयार रहेको मस्कोले जनाएको छ। 

प्रकाशित: २० फाल्गुन २०८२ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App