बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्धको मानवताविरुद्ध अपराध मुद्दाको फैसला नोभेम्बर १७ (आज) विशेष न्यायाधिकरणले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै सुनाउँदैछ। यसबिच उनका छोरा सजीब वाजेदले अदालतले आमालाई मृत्युदण्डको सजाय सुनाउने पक्का रहेको चेतावनी दिएका छन्।
सन् २०२४ को विद्यार्थी आन्दोलन दमन गर्दा सुरक्षा बलले १४ सयभन्दा बढीलाई मारेको आरोपमा हसिनाविरुद्ध मुद्दा चलाइएको छ। अगस्ट २०२४ मा सत्ता छोडेर भारत भागेकी ७८ वर्षीया हसिना अहिले नयाँ दिल्लीमा निर्वासनमा सुरक्षित बसिरहेकी छिन्।
वाशिंगटन डीसीमा बसेर रोयटर्ससँग कुरा गर्दै वाजेदले भने, ‘हामीलाई थाहा छ उनीहरूलाई मृत्युदण्डको सजाय दिनेछन्। तर आमा भारतमा पूर्ण सुरक्षामा हुनुहुन्छ। अवामी लिगमाथिको प्रतिबन्ध नहटाएसम्म हामी चुनाव हुन दिँदैनौ। हाम्रो विरोध झन् बलियो बन्दैछ, जे पनि गर्नेछौँ।’
उनले अन्तर्राष्ट्रिय समुदायले नबोले बंगलादेशमा हिंसा झन् बढ्ने चेतावनीसमेत दिए।
यता ढाकामा पछिल्ला दिनहरूमा हिंसा चर्किएको छ। नोभेम्बर १२ मा मात्र ३२ वटा बम विस्फोट भएका थिए भने आइतबार पनि सहरभरि बम पड्किए। दर्जनौँ बस जलाएको आरोपमा अवामी लिगका कार्यकर्तालाई पक्राउ गरिएको छ।
सरकारले चार सयभन्दा बढी सीमा गार्ड तैनाथ गरेको छ भने स्कुलहरू अनलाइन कक्षा चलाइरहेका छन्। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले फेब्रुअरी २०२६ मा चुनाव र संवैधानिक जनमत संग्रह गराउने वाचा गरेको छ। तर अवामी लिगमाथिको प्रतिबन्ध कायमै भएका कारण चुनाव अन्योलमा देखिएको छ। एजेन्सी
प्रकाशित: १ मंसिर २०८२ ०७:२३ सोमबार





