इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूको पक्षमा अभिव्यक्ति दिएका छन्।
इरानी सुरक्षा फौजको दमनमा परी हजारौंको मृत्यु भएको आशंका गरिरहँदा राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीहरूलाई मद्दत पठाउने बताएका हुन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले इरानी अधिकारीहरूसँगका सम्पूर्ण बैठकहरू रद्द गरेको घोषणा गरेका छन्।
उनले लेखेका छन्, ‘इरानी देशभक्तहरू, प्रदर्शन जारी राख्नुहोस्, आफ्ना संस्थाहरू नियन्त्रणमा लिनुहोस्। हत्यारा र दुर्व्यवहार गर्नेहरूको नाम सुरक्षित राख्नुहोस्, उनीहरूले यसको ठुलो मूल्य चुकाउनुपर्नेछ।’
ट्रम्पले प्रदर्शनकारीहरूको निर्मम हत्या नरोकिएसम्म इरानी अधिकारीहरूसँग कुनै भेटघाट नहुने स्पष्ट पार्दै भनेका छन्- ’मद्दत आउँदैछ।’
यसअघि ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूका सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।
इरानमा जारी आन्दोलन दबाउन सरकारले अत्यधिक बल प्रयोग गरेको छ। रोयटर्स समाचार संस्थालाई एक इरानी सुरक्षा अधिकारीले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २ हजारको हाराहारीमा पुगेको अनुमान गरिएको छ।
यद्यपि, यसमा सुरक्षाकर्मी र सर्वसाधारण दुवै समावेश भएको बताइएको छ।
बिबिसीका अनुसार मृतकको यकिन संख्या तोक्न कठिन भए पनि हजारौं मानिस मारिएको हुनसक्ने आशंका गरिएको छ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पनि सयौँको मृत्यु भएको र हजारौं पक्राउ परेको विश्वसनीय रिपोर्टहरू प्राप्त भएको जनाएको छ।
विगत ५ दिनदेखि इरानमा इन्टरनेट सेवा पूर्ण रूपमा बन्दजस्तै छ। संयुक्त राष्ट्रसंघका प्रवक्ता जेरेमी लरेन्सले इन्टरनेट बन्द गरिनुलाई मानव अधिकारको गम्भीर उल्लंघन भएको बताएका छन्।
डिजिटल ब्ल्याकआउटका कारण इरानभित्रको वास्तविक अवस्था बाहिर आउन सकेको छैन। यद्यपि, मंगलबार केही अन्तर्राष्ट्रिय कलहरू सम्भव हुँदा इरानी नागरिकहरूले बाहिरी विश्वलाई भयानक स्तरको मृत्यु र विनाश भइरहेको जानकारी गराएका छन्।
जर्मन चान्सलर फ्रेडरिक मर्जनले विश्वले इरानी शासनको अन्तिम दिन र हप्ताहरू देखिरहेको टिप्पणी गरेका छन्। युरोपेली राष्ट्रहरूले आ-आफ्ना देशमा रहेका इरानी राजदूतहरूलाई बोलाएर कूटनीतिक असन्तुष्टि जनाएका छन्।
यसैबीच, ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीले इरानबारे अब कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको छ।
इरानी मुद्रा रियालको अवमूल्यन र चर्को महँगीको विरोधमा विगत दुई साताअघि सुरु भएको प्रदर्शन अहिले इरानका १८६ भन्दा बढी सहरमा फैलिसकेको छ।
प्रकाशित: २९ पुस २०८२ २१:११ मंगलबार





