विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० का केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएको छ।
विमान निर्माता एयरबसले १६ वटा सुपरजम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ। प्रभावित विमानमध्ये अधिकांश एमिरेट्स एयरलाइन्सले सञ्चालन गरिरहेका छन्।
युरोपेली सङ्घ (इयु) को उड्डयन सुरक्षा निकाय इएएसएले नियमित मर्मत परीक्षणका क्रममा पखेटाको महत्त्वपूर्ण संरचनामा समस्या भेटिएपछि सम्बन्धित विमानहरूको तत्काल निरीक्षण गर्न निर्देशन दिएको एयरबसले जनाएको छ।
पखेटाभित्र रहेको उक्त संरचनात्मक बीमले उडानका क्रममा विमानमा पर्ने ठूलो वायु गतिकीय भार वहन गर्ने गर्दछ।
निरीक्षणमा समावेश गरिएका १६ विमानमध्ये १५ वटा एमिरेट्स र एउटा क्वान्टास एयरलाइन्सले सञ्चालन गरिरहेका छन्। तीमध्ये पाँचवटा एमिरेट्सका विमानमा तत्काल जाँच आवश्यक रहेको बताइएको छ।
एमिरेट्सले आगामी ४८ घण्टाभित्र निरीक्षण प्रक्रिया सुरु गरिने र आवश्यक मर्मतपछि मात्र विमानहरू पुनः सेवामा फर्काइने जनाएको छ।
कम्पनीले उडान तालिकामा न्यूनतम असर पार्ने गरी एयरबस र सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताएको छ।
ए३८० सञ्चालन गर्ने वायुसेवामा एमिरेट्स, सिङ्गापुर एयरलाइन्स, ब्रिटिस एयरवेज, क्वान्टास, लुफ्थान्सा, कतार एयरवेज, कोरियन एयर, एतिहाद एयरवेज, एएनए र एसियाना एयरलाइन्स रहेका छन्।
विश्वकै सबैभन्दा ठूलो ए३८० फ्लीट एमिरेट्ससँग छ र यसले सञ्चालनमा रहेका आधाभन्दा बढी सुपरजम्बो उडाउँदै आएको छ।
सन् २०२१ मा एयरबसले ए३८० उत्पादन बन्द गरिसकेको भए पनि यी विमानहरू अझै लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा व्यापक रूपमा प्रयोग भइरहेका छन्।
एयरबसका अनुसार डिसेम्बर २०२५ मा जारी गरिएको प्राविधिक निर्देशनपछि गरिएको परीक्षणका क्रममा पखेटाको संरचनात्मक मजबुतीमा असर पार्न सक्ने चिराहरू फेला परेका थिए। एउटै उत्पादन समूहका अन्य विमानहरू पनि पहिचान गरिएको कम्पनीले जनाएको छ।
बाँकी ११ विमानको निरीक्षण निर्धारित उडान चक्र पूरा हुनुअघि गरिनेछ। एक उडान चक्रमा टेकअफ र अवतरण दुवै समावेश हुन्छ।
ए३८० विमानले यसअघि पनि पखेटासम्बन्धी समस्या सामना गरेको थियो। सन् २०१२ मा पखेटाको बाहिरी भाग र भित्री संरचनालाई जोड्ने भागमा चिरा देखिएपछि विश्वभरका ए३८० विमानहरूको निरीक्षण गरिएको थियो।
त्यसपछि एयरबसले नयाँ विमानमा डिजाइन परिवर्तन गरी समस्या समाधान गर्ने प्रयास गरेको थियो।
प्रकाशित: १० असार २०८३ १७:१२ बुधबार



-600x400.jpg)

