१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा व्यावसायिक ग्यास सिलिन्डरको मूल्य ९९३ भारुले बढ्यो

पश्चिम बंगालसहितका राज्यहरूमा निर्वाचन सकिएसँगै भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले इन्धनको मूल्य बढाएको छ। 

भारतका पश्चिम बंगाल, तमिलनाडु, केरला, असम र केन्द्र शासित प्रदेश पुडुचेरीमा हालै विधानसभा चुनाव सम्पन्न भएका थिए। यी सबै राज्य र केन्द्र शासित प्रदेशको मतगणना आगामी सोमबारदेखि गर्ने निर्वाचन आयोगको तयारी छ।

१९ किलोग्रामको व्यावसायिक एलपिजी सिलिन्डरको मूल्यमा औसत ९९३ भारुले वृद्धि गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा अब व्यावसायिक सिलिन्डरको मूल्य तीन हजार ७१ भारु पुगेको छ। त्यस्तै, मुम्बईमा यसको मूल्य तीन हजार २४ भारु कायम भएको छ। इरान युद्ध सुरु भएयता व्यावसायिक सिलिन्डरको मूल्य तीन पटक बढिसकेको छ। यो वृद्धिले दैनिक सञ्चालनका लागि इन्धनमा निर्भर रहने रेस्टुरेन्ट र अन्य व्यवसायलाई नराम्रो असर पर्ने देखिएको छ, जसका कारण बाहिर खाना खानु महँगो हुन सक्छ।

यसैबिच मोदी सरकारले इरान युद्धबिच इन्धनको मूल्य बढाउन बढ्दो दबाब हुँदा पनि घरेलु एलपीजी, पेट्रोल, डिजेल र आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन।

विभिन्न सहरमा १४.२ किलोको घरेलु एलपिजीको मूल्य यस्तो छ:
नयाँ दिल्ली: ९१३ भारु
कोलकाता: ९३९ भारु
मुम्बई: ९१२ भारु
पटना: एक हजार २ भारु
हैदराबाद: ९६५ भारु

तेल बजार कम्पनीहरूले कच्चा तेल उच्च दरमा किनेर सस्तोमा बेच्नुपर्दा दैनिक करिब १६ हजार करोड भारु नोक्सान बेहोर्नुपरेको दाबी गरेका छन्। उनीहरूले घाटा कम गर्न सरकारसँग क्षतिपूर्तिको माग समेत गरिरहेका छन्।

एनडिटिभीका अनुसार मे १ देखि लागू हुने गरी एलपिजी सिलिन्डर बुकिङका नियमहरू पनि परिवर्तन गरिएका छन्। अब सहरी क्षेत्रका उपभोक्ताले २५ दिनको अन्तरालमा मात्र अर्को सिलिन्डर बुक गर्न पाउनेछन्, जुन पहिले २१ दिन थियो। ग्रामीण क्षेत्रमा भने यो अन्तराल ४५ दिन कायम गरिएको छ।

यसका साथै, डेलिभरी प्रक्रियालाई सुरक्षित बनाउन 'डेलिभरी प्रमाणीकरण कोड' अनिवार्य गरिएको छ। अब ग्राहकले केवल रसिद देखाएर मात्र सिलिन्डर पाउने छैनन्। ग्यास बुकिङ गर्दा मोबाइलमा आउने ओटिपी कोड अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने नियम बनाइएको छ।

प्रकाशित: १८ वैशाख २०८३ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App