१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको विजय दिवस आज: पुटिनसहित विश्व नेतासमक्ष सीको शक्तिशाली सैन्य प्रदर्शन

दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको अवसरमा चीनले बुधबार राजधानी बेइजिङमा एक प्रमुख सैन्य परेड आयोजना गर्दै छ।

देशको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलगायत विश्व नेताहरूलाई स्वागत गर्नेछन्, जसले चीनको सैन्य पराक्रम र भविष्यको दृष्टिकोण प्रस्तुत गर्नेछन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो कार्यक्रम बुधबार बिहान ९ बजे (नेपाली समयानुसार पौने ७ बजे बिहान) सुरु हुनेछ। चीनले अन्तिमपटक १० वर्षअघि विजय दिवसको सैन्य परेड आयोजना गरेको थियो। त्यो पहिलोपटक थियो जब चीनले युद्धको अन्त्यको सम्झनामा भव्य सैन्य परेड आयोजना गरेको थियो।

परेडमा चिनियाँ सैन्य शक्तिको प्रस्तुति हुनेछ, जसमा ड्रोन, हाइपरसोनिक क्षेप्यास्त्र र लडाकु विमानजस्ता उन्नत सैन्य उपकरणहरूको कोरियोग्राफ गरिएको प्रदर्शन समावेश हुनेछ। चिनियाँ सैन्य अधिकारीका अनुसार परेडमा सयौं पिपुल्स लिबरेसन आर्मी (पीएलए) विमानहरू प्रदर्शन गरिने छ।

दोस्रो विश्वयुद्धमा शाही जापानको पराजयको ८० वर्षगाँठ मनाउन हुने परेडमा ८० जना बगलर उपस्थित हुने सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन्। सन् १९३१ मा जापानले मन्चुरियामा आक्रमण गरेदेखि चीनको प्रतिरोधको प्रत्येक वर्षको प्रतिनिधित्व गर्दै १४ पंक्तिमा एक हजार बढी संगीतकार बस्नेछन्।

चीनको राज्य प्रसारक सञ्चार संस्था सिसिटिभीका अनुसार तियानमेन स्क्वायरमा दर्शकलाई हरियो, रातो र सुनौलो रङका कुर्सीमा बसाइने छ, जुन क्रमशः उर्वर भूमि, जनताको बलिदान र शान्तिको प्रतीक हो।

‘विजय दिवस’ परेडमा ४५ वटा सेनाका टुकडीले भाग लिनेछन्। बेइजिङको तियानमेन स्क्वायरमा सीलाई पार गर्दै लगभग ७० मिनेटसम्म चल्ने अपेक्षा गरिएको छ। सो अवसरमा राष्ट्रपति सीले भाषण दिने अपेक्षासमेत गरिएको छ। अगस्टमा परेडको पूर्वाभ्यास सुरु भएसँगै चीनले बेइजिङभरि सुरक्षा व्यवस्था कडा पारेको थियो।

को–को उपस्थित हुनेछन्?

चीनका सहायक विदेशमन्त्री होङ लीले अगस्ट २८ मा एक पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार सैन्य परेडमा २६ विदेशी नेता सहभागी हुनेछन्। आइतबारदेखि सोमबारसम्म तियानजिनमा भएको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिइसकेका पुटिन पहिल्यै चीनमा छन्।

एससिओ शिखर सम्मेलन वा सम्बन्धित बैठकका लागि चीनको यात्रा गरेका र सेप्टेम्बर ३ को परेडमा बस्ने अन्य नेतामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लाइङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफ, मंगोलियाली राष्ट्रपति खुरेलसुख उखना, उज्वेक राष्ट्रपति शावकत मिर्जियोयेभ र बेलारूसी राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोलगायत समावेश छन्, तर अरू पनि उनीहरूसँग सामेल हुँदै छन्।  

उत्तर कोरियाली नेता किम मंगलबार विशेष रेल हुँदै चीन आइपुगेका थिए। ६६ वर्षमा उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा भाग लिएको यो पहिलोपटक हो। चीनमा भएको सैन्य परेडमा भाग लिने अन्तिम उत्तर कोरियाली नेता उत्तर कोरियाका संस्थापक तथा किमका दिवंगत हजुरबुवा किम इल सुङ (सन् १९५९) थिए।  

बेइजिङमा हुने कार्यक्रममा दुई युरोपेली नेता, स्लोभाकियाली प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाली राष्ट्रपति अलेक्जान्डर भुचिक मात्र उपस्थित हुने तय भएको छ। स्लोभाकिया युरोपेली संघ र नेटोको हिस्सा भए पनि फिकोले रुससँग घनिष्ट सम्बन्धका लागि जोड दिएका छन्। उनले डिसेम्बर २०२४ मा पुटिनसँग वार्ताको लागि मस्कोको भ्रमण गरेका थिए। फिकोजस्तै भुचिकले पनि युक्रेनमा भएको युद्धलाई लिएर रुसविरुद्धको प्रतिबन्धको आलोचना गर्दै आएका छन्। उनले हालै मस्कोको भ्रमण गरेका छन्।

चीनले किन विजय दिवस परेड आयोजना गर्छ?

सन् १९३९ मा पोल्यान्डमा जर्मन आक्रमण, जसको परिणामस्वरूप बेलायत र फ्रान्सले जर्मनीविरुद्ध युद्ध घोषणा गरेका थिए। पश्चिममा सामान्यतः दोस्रो विश्वयुद्ध सुरु भएको विन्दु त्यसलाई मानिन्छ, तर त्यतिबेलासम्म एसियाले धेरै वर्षदेखि जापानी आक्रमणको मार खेपिरहेको थियो।

सन् १९३१ मा मन्चुरियाको आक्रमणपछि जापानी र चिनियाँ सेना मुख्यतया चियाङ काई–शेकको कुओमिन्ताङ (केएमटी) र चिनियाँ कम्युनिस् पार्टी (सीसीपी) को नेतृत्वमा झडपको शृंखलामा संलग्न भए, तर त्यतिबेला केएमटी र सिसिपी पनि चीनको नियन्त्रणका लागि आफ्नै गृहयुद्धको पहिलो चरणमा फसेका थिए र जापानले ठूलो प्रगति हासिल गर्‍यो।

त्यसपछि जुलाई १९३७ मा जापानी र चिनियाँ सेना बेइजिङ बाहिर भिड्न थाले। केही दिनमै यो पूर्ण रूपमा विकसित द्वन्द्वमा परिणत भयो। त्यतिञ्जेलम केएमटी र सिसिपीले जापानविरुद्ध संयुक्त मोर्चामा सहमति जनाएका थिए, जुन १९४५ मा युद्धको अन्त्यसम्म रह्यो।

जापानी सेनाले नान्जिङलगायत पूर्वी सहरमा आक्रमण गर्न थाल्यो। हजारौं नागरिकको हत्या गरियो भने गाउँ ध्वस्त पारिएका थिए। महिलालाई बलात्कारसम्म गरेको आरोप छ। तर सिसिपी र केएमटीले प्रतिरोध जारी राखे। केही अनुमानअनुसार युद्धको परिणामस्वरूप दुई करोड चिनियाँ मारिए, जसमध्ये अधिकांश सर्वसाधारण नै थिए।

सन् १९४१ मा डेमोक्रेटिक राष्ट्रपति फ्य्रांकलिन डी. रुजवेल्टको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले जापानमाथि तेल प्रतिबन्ध लगायो। डिसेम्बर १९४१ मा जापानी सेनाले हवाईको पर्ल हार्बरमा रहेको अमेरिकी प्रशान्त बेडामाथि अचानक आक्रमण गर्‍यो। त्यसको क्षति र हताहत धेरै भयो अनि अमेरिका पनि युद्धमा होमियो।

सन् १९४० को दशकमा जापानले एसियाली देशका अन्य भाग पनि कब्जा गर्‍यो, जसमा आधुनिक इन्डोनेसिया, मलेसिया र म्यानमारका केही भाग र वर्तमान भारतका केही भाग समावेश थिए।

सन् १९४५ मा अमेरिकी वायु सेनाले जापानी सहर हिरोसिमामा र तीन दिनपछि नागासाकी सहरमा परमाणु बम खसालेको थियो। त्यसपछि सोभियत संघ (वर्तमान रूस) ले पनि जापानविरुद्ध युद्ध घोषणा गर्‍यो। सेप्टेम्बर २ मा जापानले औपचारिक रूपमा आत्मसमर्पण गर्‍यो।

सिसिपी र केएमटीले आफ्नो गृहयुद्ध पुनः सुरु गरे। फलस्वरूप माओ त्सेतुङको नेतृत्वमा रहेको कम्युनिस्ट सन् १९४९ मा विजयी भयो। अर्कातिर चियाङ र उनका बाँकी केएमटी सेनाले भागेर ताइवान पुगी त्यहाँ समानान्तर सरकार स्थापना गरे। सन् २०१४ मा चीन  सरकारले जापानको आत्मसमर्पणको भोलिपल्ट सेप्टेम्बर ३ लाई विजय दिवसका रूपमा घोषणा गरेको थियो।

सन् २०१५ मा सिसिपीले युद्धको समयमा केएमटी सिपाहीले गरेको बलिदानलाई स्वीकार गर्‍यो। त्यतिबेलाका सैनिक मार्चमा भाग लिन दिग्गजलाई आमन्त्रित समेत गरिएको थियो। त्यतिबेला ताइवानमा केएमटीको शासन थियो, जसले ऐतिहासिक तनावका बाबजुद पनि लामो समयदेखि सिसिपीको अधीनमा रहेको मुख्य भूमि चीनसँग घनिष्ट सम्बन्ध खोज्दै आएको छ।

यद्यपि सन् २०१६ देखि ताइवानमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डिपिपी) ले शासन गर्दै आएको छ। डिपिपीले स्वशासित क्षेत्रको सार्वभौमिकताका बारेमा विशेष जोड दिँदै आएको छ। ताइवानलाई मुख्य भूमिसँग पुनर्मिलन गर्नुपर्छ भन्ने कुरामा जोड दिने चीनले डिपिपीको आलोचना गर्छ। त्यस पृष्ठभूमिमा बुधबारको परेडले जापानलाई पराजित गर्न सिसिपीको भूमिकालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

–एजेन्सीको सहयोगमा  

प्रकाशित: १८ भाद्र २०८२ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App