चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वासिंगटनमा भेटपछि चीनका उपराष्ट्रपति हान झेङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विकास, सहकार्य र बहुपक्षीयतामा जोड दिएका छन्।
शनिबारको सम्बोधनमा उनले खुला र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय वातावरण विकासका लागि आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘संरक्षणवादले कुनै विजेता जन्माउँदैन।’
हानले चीनले तीव्र आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरता हासिल गरेको बताए। चीनको ‘बेल्ट एन्ड रोड’ परियोजनामार्फत विश्वका तीन चौथाइ देशसँग काम गरेको पनि उनको भनाइ थियो। विकासले शान्ति निर्माणमा सहयोग गर्ने चीनको धारणा उनले दोहोर्याए।
इरानको विषयमा हानले खाडी क्षेत्रसहित मध्यपूर्वका देशको सार्वभौमसत्ता र सुरक्षाको सम्मान गर्नुपर्नेमा जोड दिए। उनले संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत हुने एकपक्षीय सैन्य कारबाहीको विरोध गर्दै संवाद र परामर्शमार्फत विवाद समाधान गर्नुपर्ने उल्लेख गरेका हुन्।
क्युबाको विषयमा पनि चीनले अमेरिकाको नीतिको विरोध गरेको छ। हानले अमेरिकाको नाम नलिई क्युबामाथिको दबाब रोक्न र नाकाबन्दी हटाउनुपर्ने बताए। उनले विश्वले शीतयुद्धको मानसिकता त्यागेर टकराब रोक्नुपर्नेमा जोड दिए।
यसपटक हानको सम्बोधनमा ताइवानको प्रत्यक्ष उल्लेख भएन। चीनले संयुक्त राष्ट्रसंघमा प्रायः ताइवानलाई आफ्नो हिस्सा भन्दै धारणा राख्दै आएको भए पनि यसपटक उनले त्यसबारे बोलेनन्।
हानले बहुपक्षीयता, पारस्परिक सम्मान र सहकार्यलाई विश्व व्यवस्थाको आधार बनाउनुपर्ने बताए। उनले भने, ‘बहुपक्षीयता मानवताले विपत्तिबाट गुज्रिएपछि गरेको छनोट हो।’
यस वर्ष संयुक्त राष्ट्रसंघको महासभामा चीनको प्रतिनिधित्व हानले गरेका हुन्। सी भने महासभामा सहभागी नभई ट्रम्पसँग भेटका लागि वासिंगटन गएका थिए। चिनियाँ अधिकारीका अनुसार राष्ट्रपतिले हरेक वर्ष महासभामा उपस्थित हुनुपर्ने कुनै परम्परा छैन। गत वर्ष चीनको प्रतिनिधित्व प्रधानमन्त्री ली छियाङले गरेका थिए। एजेन्सी
प्रकाशित: ११ आश्विन २०८३ ०७:४६ आइतबार




-600x400.jpg)
