बुधबार लन्डनको उच्च अदालतमा आफ्नो बयानका क्रममा बेलायतका राजकुमार ह्यारी भक्कानिएका छन्। उनले बेलायती मिडियाले उनकी श्रीमती मेघन मार्कलको जीवनलाई 'नर्क' बनाएको बताएका छन्। उनी आँसुसँग लड्दै घण्टा लामो सुनुवाइबाट बाहिरिएका थिए।
समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार यो मुद्दा डेली मेल पत्रिकाका प्रकाशकविरुद्ध चलिरहेको मुद्दासँग सम्बन्धित छ।
राजकुमार ह्यारीले उच्च अदालतलाई मिडियाले निरन्तर आफ्नो निजी जीवनमा घुसपैठ गरेको आरोप लगाएका छन्। उनले पत्रकारहरूले वैध स्रोतहरू भन्दा गैरकानुनी माध्यमबाट आफ्नो बारेमा व्यक्तिगत जानकारी सङ्कलन गरेको आरोप लगाए।
'तिनीहरू अझै पनि मेरो पछि लागिरहेका छन्। तिनीहरूले मेरी श्रीमतीको जीवनलाई पूर्ण रूपमा नर्क बनाए,' ह्यारीले अदालतमा भने।
राजकुमार ह्यारीसहित सात सेलिब्रेटीहरूले डेली मेलको प्रकाशक एसोसिएटेड न्यूजपेपर्स लिमिटेडविरुद्ध मुद्दा दायर गरेका छन्। उनले विगत २० वर्षमा व्यक्तिगत जानकारी सङ्कलन गर्न गैरकानुनी तरिकाहरू प्रयोग गरिएको आरोप लगाएका छन्।
प्रकाशकले सबै आरोपहरू अस्वीकार गरेका छन् र विवादित समाचार वैध स्रोतहरूमा आधारित भएको बताएका छन्। मुद्दा लगभग नौ हप्तासम्म चल्ने अपेक्षा गरिएको छ।
निरन्तर मिडिया आक्रमण, उत्पीडन र जातिवादी लेखहरूका कारण ह्यारी र मेघनले २०२० मा शाही कर्तव्यहरू छोडेर अमेरिका सर्ने निर्णय गरेका थिए।
प्रकाशित: ८ माघ २०८२ ११:१९ बिहीबार





