४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चर्चित यौन काण्डमा मुछिएका बेलायती राजाका कान्छा भाइले शाही उपाधि त्यागे

बेलायती राजा चार्ल्स तृतीयका कान्छा भाइ राजकुमार एन्ड्रयूले सबै शाही उपाधि त्याग्ने घोषणा गरेका छन्। शुक्रवार एक विज्ञप्तिमा एन्ड्रयूले अब ‘ड्यूक अफ योर्क’ जस्ता उपाधि प्रयोग नगर्ने बताएका हुन्। जेफ्री एपस्टाइन प्रकरणमा राजकुमार एन्ड्रयूको नाम पनि मुछिएको छ।

राजकुमार एन्ड्रयूले आफूमाथि लागेका आरोपहरूलाई ‘पूर्ण रूपमा अस्वीकार’ गरेका छन्। तर उनको छवि धुमिल भएको छ। जेफ्री एपस्टाइन काण्डकी पीडित भर्जिनिया गिफ्रेको पुस्तक चाँडै प्रकाशित हुँदैछ। पुस्तकमा राजकुमार एन्ड्रयू र एपस्टाइनबिचको सम्बन्धबारे चर्चा गरिएको छ। जसकारण उनी थप समस्यामा पर्न सक्ने आकंलन भइरहेको छ। उनलाई आफूमाथि कारबाही हुने डर पनि छ। 

विशेष गरी राजा र रानीले अर्को हप्ता भ्याटिकनमा पोप लियोलाई भेट्ने कार्यक्रम भएकोले शाही दरबारले राजकुमार एन्ड्रयूको समाचारले भेट बिगारोस् भन्ने नचाहेको देखिन्छ। भर्जिनियाले २०२१ मा राजकुमार एन्ड्रयूविरुद्ध मुद्दा दायर गरेकी थिइन्। उनको आरोप अनुसार जब उनी १७ वर्षकी थिइन्, जेफ्री एपस्टाइनले उनलाई एन्ड्रयूकहाँ लगेका थिए। त्यसपछि राजकुमारले उनीमाथि यौन दुर्व्यवहार गरेका थिए।

भर्जिनियाले राजकुमार एन्ड्रयूसँग तीन पटक यौनसम्पर्क गरेको बताएकी छन्। पहिलो पटक २००१ मा लन्डनको यात्राको क्रममा, दोस्रो पटक एपस्टाइनको न्यूयोर्क घरमा र तेस्रो पटक अमेरिकास्थित भर्जिन टापुहरूमा सम्बन्ध राखेका थिए। 

उनले बताए अनुसार पहिलो र दोस्रो पटक एन्ड्रयूलाई भेट्दा उनी केवल १७ वर्षकी थिइन्। भर्जिनियाको खुलासापछि राजकुमार एन्ड्रयूलाई शाही परिवारबाट निष्कासन गरिएको थियो।

राजकुमार एन्ड्रयूले आफ्नो पदवी त्यागेर संसदीय हस्तक्षेपबाट बच्न खोजेको देखिन्छ। संसद्ले उनको पदवी हटाउन कानून बनाउनुपर्ने थियो, जुन शाही परिवारका लागि गाह्रो हुने थियो।

यसैबिच, एपस्टाइनसँग सम्बन्धित कागजातहरू अमेरिकामा अनुसन्धान भइरहेका छन्। अनुसन्धानपछि थप कुराहरू बाहिर आउने अपेक्षा गरिएको छ। उक्त कागजातमा अन्य शीर्ष व्यक्तिहरूको नाम पनि समावेश भएको चर्चा छ। अमेरिकी कांग्रेसका सदस्य रोबर्ट गार्सियाले भने, ‘राजकुमार एन्ड्रयूको राजीनामा दिने निर्णय ढिलो भएको छ। हामी पीडितहरूलाई न्याय सुनिश्चित गर्न काम गर्नेछौँ।’

राजकुमार एन्ड्रयू अब रोयल लजमा बस्नेछन्। राजाले पहिले नै उनको आर्थिक सहयोग कटौती गरिसकेका छन्, त्यसैले उनले आफैँ पालनपोषण गर्नुपर्नेछ। तर उनको निर्णयले उनकी छोरीहरूलाई राजकुमारीको उपाधि कायम राख्न अनुमति दिनेछ। उनी यस वर्ष स्यान्ड्रिङ्घममा हुने शाही क्रिसमस समारोहमा भाग नलिने जनाइएको छ। एजेन्सी

प्रकाशित: २ कार्तिक २०८२ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App