३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतद्वारा रुसी तेल ट्यांकर नियन्त्रणमा

बेलायतले रुसी स्याडो फ्लिटअन्तर्गत सञ्चालन भइरहेको एक तेल ट्यांकरलाई इंग्लिस च्यानलमा नियन्त्रणमा लिएर ठूलो सुरक्षा कारबाही सञ्चालन गरेको छ।

बेलायती प्रधानमन्त्री केयर स्टाररले घटनाबारे पुष्टि गर्दै कारबाही सम्पन्न भएको जानकारी दिएका छन्।

बेलायती रक्षा मन्त्रालयका अनुसार करिब ६ घण्टा लामो विशेष अपरेशनमा रोयल मरिनका कमान्डो, राष्ट्रिय अपराध एजेन्सीका विशेष प्रशिक्षित अधिकारी तथा रोएल एयर फोर्सको सहयोगमा ‘स्माइर्टोस’ नामक तेल ट्यांकरलाई रोकेर पहिलो पटक जहाजभित्र प्रवेश गरी जाँच गरिएको हो।

‘स्माइर्टोस’ नामक उक्त जहाज हाल दक्षिणी इंग्ल्यान्डको समुद्री क्षेत्रमा निगरानीमा राखिएको छ। अनुसन्धान जारी रहेको बेलायती रक्षा मन्त्रालयले जनाएको छ। यो जहाज गत जुन ५ मा रुसको उस्त–लुगा बन्दरगाहबाट यात्रा सुरु गरेर शनिबार इंग्लिस च्यानल पुगेको बताइएको छ।

प्रधानमन्त्री स्टार्मरले यो कारबाहीले रुसमाथि थप दबाब सिर्जना गरेको भन्दै युक्रेनविरुद्ध राष्ट्रपति भ्लादिमिर पुटिनले गरिरहेको युद्धलाई आर्थिक रूपमा सहयोग गर्नेहरूलाई स्पष्ट सन्देश दिएको बताएका छन्।

रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न ७०० भन्दा बढी तेल ट्यांकर प्रयोग गर्दै आएको बताइन्छ, जसलाई ‘शैडो फ्लीट’ भनिन्छ। बेलायतले हालसम्म यस्ता ५०० भन्दा बढी जहाजमाथि प्रतिबन्ध लगाइसकेको छ।

यो घटना बेलायती सरकारको रक्षा लगानी योजनामाथि विवाद बढिरहेका बेला सार्वजनिक भएको हो, जहाँ रक्षा खर्च पर्याप्त नभएको भन्दै केही उच्च अधिकारीहरूले हालै राजीनामा दिएका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८३ १६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App