भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्व द्वन्द्वबारे पहिलोपटक सार्वजनिक बयान दिएका छन्।
सोमबार भारतको लोकसभामा २५ मिनेटको भाषणमा उनले तनाव अन्त्य हुनुपर्ने बताए। उनले वार्ताबाट समस्या समाधान हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री मोदीले नागरिक र विद्युत् केन्द्रहरूमाथि आक्रमण निन्दनिय रहेको बताउँदै होर्मुजको जलमार्ग अवरुद्ध गर्नु अस्वीकार्य रहेको बताए।
उनले भने, ‘सरकारले देशमा तेल र ग्यास संकट रोक्न प्रयास गरिरहेको छ। यसका लागि हामी अब २७ देशको सट्टा ४१ देशबाट आयात गरिरहेका छौं। पश्चिम एसियामा दस लाख भारतीयहरू बस्छन्। उनीहरूको सुरक्षा हाम्रो प्राथमिकता हो।’
उनले थप भने, 'कूटनीतिमा भारतको भूमिका स्पष्ट छ। हामीले हाम्रो गहिरो चिन्ता व्यक्त गरेका छौं। मैले पश्चिम एसियाका नेताहरूसँग कुरा गरेको छु, सबैलाई तनाव कम गर्न आग्रह गरेको छु। व्यावसायिक जहाजहरूमा आक्रमण र अवरोध अस्वीकार्य छ। भारतले सबै पक्षहरूलाई सकेसम्म चाँडो शान्तिपूर्ण समाधान खोज्न प्रोत्साहित गर्दछ।'
यस्तै, प्रधानमन्त्री मोदीले ३ लाख ७५ हजार भारतीय सुरक्षित रूपमा देश फर्किएका जानकारी दिए।
प्रकाशित: ९ चैत्र २०८२ १५:१८ सोमबार





