४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिनेटमा ट्रम्पलाई ठूलो झट्का : भेनेजुएलामाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अघि बढ्यो

अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कांग्रेसको अनुमति बिना भेनेजुएलाविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने प्रस्ताव अघि बढाएको छ। 

यसले १०० सदस्यीय सदनमा थप बहसको बाटो खोलेको छ। बिहीबार भएको प्रक्रियागत मतदानमा ५२–४७ मतले यो प्रस्ताव अघि बढेको हो, जसमा केही रिपब्लिकन सिनेटरहरूले सबै डेमोक्र्याटहरूलाई समर्थन गरेका थिए। 

गत शनिबार भेनेजुएलाको राजधानी काराकासमा भएको अमेरिकी सैन्य कारबाहीमा राष्ट्रपति निकोलस मादुरोलाई श्रीमतीसहित अपहरण गरेर अमेरिका लगिएको थियो। 

समर्थकहरू यो उपाय युद्ध शक्तिमा कांग्रेसको अधिकार पुन: स्थापित गर्ने प्रयास हो भनिरहेका छन्। यसको अन्तिम नतिजा अनिश्चित छ, किनकि यो पूर्ण सिनेट बहसतिर बढिरहेको छ। सदन तथा ह्वाइट हाउसबाट विरोधको सामना गर्न सक्छ।

यदि यो प्रस्ताव अन्तत: पारित भयो भने ट्रम्पले कांग्रेसबाट थप अनुमोदन लिएर मात्र भेनेजुएला भित्र वा विरुद्ध अमेरिकी सेना प्रयोग गर्नुपर्नेछ। 

यो प्रस्ताव अब सिनेटमा पूर्ण बहसमा जानेछ। ट्रम्पको डेस्कमा पुग्न यसलाई कांग्रेसका दुवै सदनले पारित गर्नुपर्छ। त्यसपछि पनि राष्ट्रपतिले प्रस्तावलाई भिटो गर्न सक्छन्। भिटोलाई उल्ट्याउन रिपब्लिकन नियन्त्रित सदन र सिनेट दुवैतिर दुई तिहाइ समर्थन आवश्यक पर्नेछ, जुन सम्भव देखिँदैन।

ट्रम्पले एक अन्तर्वार्तामा जोड दिएर अमेरिकाले ‘वर्षौंसम्म भेनेजुएला चलाउनेछ र यसको विशाल भण्डारबाट तेल निकाल्नेछ’ भनेका छन्। उनले भेनेजुएलाको अन्तरिम सरकार (डेल्सी रोड्रिगेज नेतृत्वको) ले ‘आवश्यक पर्ने सबै कुरा दिइरहेको’ दाबी गरे।

ट्रम्प प्रशासनले बुधबार अमेरिकाले भेनेजुएलाको तेल बिक्रीलाई ‘अनिश्चितकालका लागि’ नियन्त्रण गर्ने घोषणा गरेको थियो। अमेरिकाले तीनदेखि पाँच करोड ब्यारेल तेल प्राप्त गर्ने बताएको छ। 

मादुरोमाथि न्युयोर्कमा लागूपदार्थ तस्करीसम्बन्धी आरोपमा मुद्दा चलिरहेको छ। उनले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्।

काराकासले बारम्बार लागूऔषध तस्करीसँग कुनै सम्बन्ध अस्वीकार गर्दै आएको छ। उसले वासिङ्टनले देशको विशाल तेल भण्डारमाथि नियन्त्रण लिन मादुरोलाई अपदस्थ गर्ने लक्ष्य राखेको दाबी गरेको छ।

भेनेजुएलाभित्र पनि परिस्थिति अस्थिर छ। मादुरोको अपहरणपछि कार्यबाहक राष्ट्रपति बनेकी डेल्सी रोड्रिगेज भन्छिन्, ‘भेनेजुएलामा कुनै विदेशी एजेन्टले शासन गरिरहेको छैन।’ 

तर ट्रम्पले आफूले भने अनुसार नगरे मादुरोभन्दा खराब नतिजा भोग्न तयार रहन चेतावनी दिएका छन्। एजेन्सी

प्रकाशित: २५ पुस २०८२ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App