नेपाल-चीन सीमा क्षेत्रमा १० भदौमा आएको भोटेकोशी बाढीपछि हिमालय क्षेत्रमा जलवायु परिवर्तन र हिमनदी पग्लने विषय फेरि चर्चामा आएको छ।
लाङटाङ लिरुङ हिमाल नजिकै ५.२ रेक्टर स्केलको भूकम्पीय कम्पन उत्पन्न गराउने गरी गएको भीषण हिमपहिरोका कारण करिब सात करोड ४० लाख घनमिटर बरफ, चट्टान र लेदो ल्हेन्दे नदीमा खसेको थियो।
तिब्बतबाट सुरु भएको लेदो र बाढी सीमा पार गर्दै नेपालतर्फ आएपछि रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठुलो क्षति भएको छ। खोजी तथा उद्धार कार्य २५ दिन भइसक्दा पनि चलिरहेको छ। उक्त विपद्ले नेपाल र चीनमा व्यापक मानवीय क्षति हुनुका साथै भौतिक नोक्सानीसमेत भएको छ।
यस घटनापछि हिमाली क्षेत्रमा हुने यस्ता घटनाका कारण र जलवायु परिवर्तनको प्रभावबारे चासो बढिरहेका बेला भारतको उत्तराखण्डका २३ प्रमुख हिमनदी तीव्र गतिमा पग्लिरहेको एक अध्ययनले देखाएको छ।
विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनले हिमालय क्षेत्रमा प्रत्यक्ष असर गरिरहेको अध्ययनमा उल्लेख छ। हिमनदीको आकार, ढलान र त्यसमा जम्मा भएको फोहोरको मात्रा पनि पग्लने गतिमा प्रभाव पार्ने कारक रहेको बताइएको छ।
वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीका वैज्ञानिक ज्योति कुमारी, गिरीश चन्द्र कोठियारी, अतुल कुमार पाटीदार र मनीष मेहताले 'डिस्कभर जियोसाइन्स' जर्नलमा अनुसन्धान पत्र प्रकाशित गरेका हुन्। अनुसन्धानमा २३ हिमनदीका ऐतिहासिक रेकर्ड अध्ययन गरी पग्लने कारण र दरबारे विश्लेषण गरिएको थियो।
उत्तराखण्डमा गरिएको यो अध्ययन भोटेकोशी बाढी आएको केही दिनपछि सार्वजनिक भएको हो। एनडीटीभीका अनुसार पछिल्ला वर्षमा ठुला हिमनदीबाट बरफका भाग छुट्टिएर तल्लो क्षेत्रमा बग्ने घटना बढेका छन्। यसले वैज्ञानिक, वातावरणविद् र सरकारको ध्यान जोखिममा रहेका हिमालयी हिमनदीतर्फ तानेको छ।
हिमालयका हिमनदीले भारतसँगै छिमेकी देशमा सिँचाइ, खानेपानी र जलविद्युतका लागि पानी उपलब्ध गराउँछन्। गंगा, भागीरथी, सतलज, रावी, सिन्धु, ब्रह्मपुत्र, यमुना, अलकनन्दा र महाकालीजस्ता प्रमुख नदी हिमालयबाट बग्छन्।
उत्तराखण्डमा गंगोत्री, अलकापुरी, मिलम, पिंडारी, खतलिंग, सतोपन्थ र भागीरथीलगायत सयौं हिमनदी छन्। पछिल्ला वर्षमा यीमध्ये धेरै हिमनदी पग्लने दर तीव्र भएको छ।
पिथौरागढ जिल्लाको शंकुल्पा हिमनदीको सात दशकको रेकर्ड हेर्दा यो ५१८ मिटर पछाडि हटेको र प्रतिवर्ष ६.८ मिटरको दरले पग्लिएको देखिएको छ। उत्तरकाशीको बन्दरपुंच हिमनदी सन् १९६० देखि १९९९ सम्मको ३९ वर्षको तथ्यांकअनुसार प्रतिवर्ष २५.५१ मिटरको दरले पछाडि हटेको थियो।
रुद्रप्रयागको चोराबारी हिमनदी सन् १९६२ देखि २०१० सम्मको तथ्यांकअनुसार ३२७ मिटर पछाडि हटेको र प्रतिवर्ष ६.८ मिटरको दर देखिएको छ। तेहरीको खतलिंग हिमनदी प्रतिवर्ष ८८ मिटरको दरले पछाडि हटेको अध्ययनमा उल्लेख छ।

गंगोत्री हिमनदीको पनि दुई पटक अध्ययन गरिएको थियो। सन् १९३५ देखि २००४ सम्मको ६९ वर्षको रेकर्डअनुसार यो प्रतिवर्ष २२.०२ मिटरको दरले पछाडि हटेको थियो। अर्को छ वर्षको रेकर्डमा प्रतिवर्ष २१.३ मिटरको दर देखिएको छ।
उत्तरकाशीको डोक्रीयानी हिमनदी प्रतिवर्ष २१ मिटर, भागीरथी ३.७ मिटर, चमोलीको सतोपन्थ २६.४५ मिटर, टिपरा १४.४१ मिटर र दुनागिरी ९ मिटरको दरले पछाडि हटेको अध्ययनमा उल्लेख छ।
पिथौरागढको मिलम हिमनदी प्रतिवर्ष ३२ देखि ३७.८ मिटरको दरले पछाडि हटिरहेको पाइएको छ। उत्तरी नन्दादेवी २२ मिटर र रमणी ३२ मिटरको दरले पछाडि हटिरहेको अध्ययनले देखाएको छ।
पिंडारी हिमनदीको पनि दुई पटक अध्ययन गरिएको थियो। सन् १८४५ देखि १९६६ सम्मको १२१ वर्षको रेकर्डअनुसार यो दुई हजार ८४० मिटर पछाडि हटेको र प्रतिवर्ष २३.४ मिटरको दर देखिएको थियो। त्यस्तै, सन् २००० देखि २०१८ सम्मको १८ वर्षको रेकर्डमा ८२५.२३ मिटर पछाडि हटेको र प्रतिवर्ष ४५.८५ मिटरको दर देखिएको छ।
खतलिंग, मिलम, गंगोत्री, सतोपन्थ, रमणी र जौन्धर उत्तराखण्डका ती हिमनदी हुन्, जसको पग्लने दर तीव्र रहेको अध्ययनले देखाएको छ। तीमध्ये मिलम र खतलिंग पछिल्ला वर्षमा तीव्र गतिमा पछाडि हटेका छन्।
अध्ययनमा हिमनदीको ऐतिहासिक रेकर्ड हेर्दा फोहोरले ढाकिएका हिमनदी प्रतिवर्ष केही मिटरको दरले पग्लिएको र सफा बरफ भएका हिमनदी अझ तीव्र गतिमा पग्लिएको पाइएको छ।
हिमनदी यही गतिमा पग्लिँदै गए समुद्री सतह बढ्ने जोखिम रहन्छ। साथै हिमताल फुटेर आउने बाढी, हिमपहिरो र उच्च हिमाली क्षेत्रबाट तलतिर बग्ने लेदो तथा फोहोरको जोखिम पनि बढ्न सक्छ।
सन् २००० पछि हिमनदी पग्लने दर थप तीव्र भएको पाइएको छ। यसको एउटा कारण चार हजार मिटरसम्मको उचाइमा समेत वर्षा हुनु हो। पहिले यस्ता क्षेत्रमा हिउँ पर्ने गरेकोमा अहिले पानी पर्ने गरेको छ। गर्मीको अवधि पनि लम्बिएको छ भने जाडोमा हिमपातमा उल्लेख्य कमी आएको छ।
प्रकाशित: ४ आश्विन २०८३ ०८:५६ आइतबार





