४ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

दिलरुवा

लघुकथा

सधैँझैँ आज पनि  ऊ आयो। त्यही डाँडाको पीपलको रूख तल बसेर विलौना गर्न थाल्यो,  जुन रुख १० वर्षअघि ऊ र उसकी प्रियसीले विशेष अवसर पारेर रोपेका थिए।

‘रुवा, तिमी यत्ति निष्ठुरी त थिइनौँ तर मलाई किन एक्लो पारेर गयौ? तिमी र म एक भएको दिन हामीले रोपेको यो रूख क्या मस्तले झाङ्गिएको छ। तिमीले यो रूख रोपेको बेला भनेकी थियौ नि, ‘दील, यो रूखको नाम दिलरुवा राखौँ ल?’

मैले मुसुक्क हाँसेर स्वीकृति जनाएको थिएँ। म यस्तो भए पनि यो रूख कत्ति भर्भराउँदो छ। लोभलाग्दो र मायालु छ। यो दिलरुवालाई तिमीले हेर्न पाएकी भए कति बखान गर्थ्यौ होला नि? तिमी मलाई छोडेर गएपछि म एक्लो यसको छहारीमा तिमीलाई पाउने प्रयत्न गर्छु। तिमी नभए पनि यस रूखले मलाई तिम्रो स्पर्शको अनुभूत गराउँछ र त म यहाँ आउने गरेको छु।’

तल केही बालक कराउँदै थिए, ‘आज पनि त्यो बौलाहा आएछ। ढुङ्गाले हानेर भगाउनुपर्छ।’

बालकहरूलाई ऊ सम्झाउने प्रयास गर्थ्यो तर अफसोस ऊ हार खान्थ्यो। जबसम्म ऊ सन्तुष्ट हुँदैनथ्यो, ढुङ्गाको चोट सहेर पनि बसिरहन्थ्यो।अचानक रूखबाट एउटा पात तल झर्‍याे। उसले रुवाको आगमन सम्झेर भुइँबाट पात टिप्यो। सर्टको खल्तीमा सजाएर खुरुखुरु घरतिर हिँड्यो।

प्रकाशित: ४ आश्विन २०८३ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App