१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : उपकरण र कुकुरसहित ४४ सदस्यीय कोरियाली उद्धार टोली नेपाल आउँदै, १० दिन बस्ने

गत बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय विपद् राहत टोली पठाउने भएको छ।

खोज तथा उद्धार कार्यमा सहयोग गर्न कोरियाले पठाउन लागेको कोरिया विपद् राहत टोली (केडीआरटी) मंगलबार राति नेपालका लागि प्रस्थान गर्नेछ। कोरियाको परराष्ट्र मन्त्रालयका अनुसार टोलीमा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका), अग्नि नियन्त्रण अधिकारीलगायतका कर्मचारी सहभागी छन्।

टोली बुधबार बिहान नेपाल आइ पुग्नेछ। टोलीसँग सात सय वटा उद्धार उपकरण र पाँच वटा खोज तथा उद्धार कुकुर हुनेछन्। टोलीले करिब १० दिन नेपालमा बसेर बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ। आवश्यक परे टोलीको बसाइ थप गर्न सकिने कोरियाली अधिकारीले बताएका छन्।

टोलीले विशेषगरी रसुवामा बेपत्ता भएका नौ जना कोरियाली नागरिकको खोजीमा सहयोग गर्नेछ। उनीहरू जलविद्युत आयोजना निर्माणस्थलमा काम गरिरहेका बेला बाढी आएको थियो।

कोरियाली परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपाल सरकार र यसअघि नेपाल पुगेको द्रुत प्रतिक्रिया टोलीसँग समन्वय गरेर उद्धार कार्य अघि बढाइने बताएका छन्।

यसअघि कोरियाले नेपालमा द्रुत प्रतिक्रिया टोली पठाइसकेको छ। उक्त टोलीले नेपाली सेनासँग समन्वय गरेर बेपत्ता कोरियाली नागरिकको स्थलगत तथा हवाई खोजी गरिरहेको छ। ड्रोन प्रयोग गरेर खोजी गर्ने तयारीसमेत भइरहेको छ।

यसैबिच, कोरियाका राष्ट्रपति ली जे म्युङले बेपत्ता नौ जना कोरियाली नागरिकको खोजी तीव्र बनाउन थप स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन्। उनले नेपालमा खटिने कोरियाली उद्धारकर्मीको सुरक्षा सुनिश्चित गर्न र नेपाललाई तत्काल मानवीय सहायता उपलब्ध गराउन पनि निर्देशन दिएका छन्।

बाढी र पहिरोपछि कोरियाले यसअघि नै अन्तर्राष्ट्रिय संस्थामार्फत नेपाललाई १० लाख अमेरिकी डलरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ।

प्रकाशित: १६ भाद्र २०८३ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App