जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई सम्भावित क्षेत्रमा राइफल र बन्दुक प्रयोग गर्न सजिलो हुने गरी हतियारसम्बन्धी नियम सहज बनाएको छ।
घट्दो मानव जनसंख्या र जलवायु परिवर्तनजस्ता कारणले भालुको वासस्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रमा धेरै जंगली भालु देखिएको छ।
यो वर्षको अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट चार जनाको मृत्यु भएको र अगस्टमा होक्काइदोमा दर्जनौं घाइते भएको जनाइएको छ।
उत्तरी सहर किताकितामा रहेको अपांगता संरक्षण केन्द्रमा जुलाईमा भालुले आक्रमण गरेपछि एक जना महिलालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो। जुनमा एउटा भालु क्षेत्रीय विमानस्थलको धावनमार्गमा घुम्दै गरेको देखिएको थियो।
कडा हतियार नियन्त्रण प्रणाली अवलम्बन गरेको जापानले भालुको आक्रमण आत्मरक्षाका लागि सिकारीलाई राइफल र बन्दुकको प्रयोगलाई प्रहरीको स्वीकृतिपछि अनुमति दिएको छ।
सोमबारदेखि अधिकारीले बासिन्दाको सुरक्षा सुनिश्चितासँगै आपतकालीन अवस्थामा सिकारीलाई राइफल प्रयोग गर्ने अधिकार दिन सक्ने जनाइएको छ।
सन् २०२५ मार्चसम्म जापानमा ८५ जना मानिसलाई भालुले आक्रमण गरेको थियो, जसमध्ये तीन जनाको मृत्यु भएको थियो।
उक्त अवधिमा पाँच हजार १३६ भालु मारिएको थियो। मारिएको भालुको संख्या अघिल्लो वर्षको सोही अवधिमा नौ हजार रहेको थियो।
ग्रामीण जनसंख्याको ह्रास र मौसम परिवर्तनले भालुको खाना र बसोबासलाई असर गर्दा धेरै जनावर सहर नजिक जान बाध्य भएको विज्ञले जनाएका छन्।
जापानको घट्दो जनसंख्याका कारण बाँझो जग्गामा भएको वृद्धिले पनि जंगली क्षेत्र बढिरहेको जनाइएको छ।
अधिकांश वृद्ध जनसंख्याको अवस्थाले सिकारीको संख्यामा कमी आएको र भालुको जनसंख्यामा वृद्धि भएका कारण आक्रमण बढेको जनाइएको छ।
पछिल्लो समयमा टोकियो क्षेत्रमा पनि धेरै भालु देखिएको रिपोर्ट गरिएको छ।
गत महिना, सहरी क्षेत्रमा रहेको नदीमा माछा मार्दा एक जना व्यक्तिलाई भालुले आक्रमण गरेको बताइएको छ।
सरकारी सञ्चार माध्यम एनएचकेका अनुसार यो वर्ष जापानमा प्राथमिक, माध्यमिक वा उच्च विद्यालयभित्र वा नजिकै कम्तीमा ३९ वटा भालु देखिएको छ। एएफपी
प्रकाशित: १७ भाद्र २०८२ ११:४५ मंगलबार





