बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेको छ। यो माफी ‘ट्रम्पस् अ सेकेन्ड चान्स’ नामक वृत्तचित्रमा ट्रम्पको जनवरी ६, २०२१ को भाषणको सम्पादनमा भएको गल्तीको लागि हो। जसले सार्वजनिक प्रसारकलाई ठूलो विवादमा तान्नुको साथै यसका महानिर्देशक र समाचार प्रमुखको राजीनामाको कारण बनेको थियो।
बीबीसीका अध्यक्ष समीर शाहले व्यक्तिगत रूपमा ह्वाइट हाउसलाई पत्र पठाएर सम्पादनको लागि माफी मागेका छन् । बीबीसीले भिडियो क्लिप सम्पादन गरिएकोमा साँच्चै पछुतो व्यक्त गरे पनि यसले ट्रम्पको मानहानिको दावीको आधार रहेको कुरामा असहमत रहेको बताएको छ।
ट्रम्पले बीबीसीलाई वृत्तचित्र फिर्ता नलिएमा र माफी नमागेमा १ अर्ब डलरको मानहानि मुद्दा हाल्ने धम्की दिएका थिए। माफीपछि बीबीसीले वृत्तचित्रलाई कुनै पनि प्लेटफर्ममा पुनः प्रसारण गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ।
वृत्तचित्रले ट्रम्पको जनवरी ६ को भाषणका दुई अलग अलग भागहरूलाई जोडेर प्रस्तुत गरेको थियो। ‘हामी क्यापिटलमा हिंड्नेछौं र म त्यहाँ तपाईंसँगै हुनेछु र हामी लड्नेछौं। हामी नरक जस्तै लड्छौं र यदि तपाईं नरक जस्तै लड्नुभएन भने, तपाईंसँग अब देश हुनेछैन।’
यसो भनिएको देखाइएको थियो। जसले उनी ‘क्यापिटलमा हिंड्नेछौं’ र ‘नरक जस्तै लड्छौं’ भन्ने कुरा एकै साथ भनेको जस्तो देखिएको थियो। तर ती भाषण फरक फरक समयमा ट्रम्पले बोलिएका थिए।
सम्पादनको त्रुटि र प्रणालीगत पूर्वाग्रहको आरोपले ठूलो विवाद हुदाँ बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका छन्। यता ट्रम्पले अहिलेसम्म बीबीसीको माफीलाई सार्वजनिक रूपमा स्वीकार गरेका छैनन्। एजेन्सी
प्रकाशित: २८ कार्तिक २०८२ ०७:३४ शुक्रबार





