अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को विरोध गर्दै आएकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार इल्हान उमर मिनेसोटाबाट पाँचौँ पटक अमेरिकी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।
मंगलबार भएको मध्यावधि चुनावमा उमरले रिपब्लिकन उम्मेदवार तथा ३० वर्षीय पूर्वप्रहरी जोन नागेललाई पराजित गरेकी हुन्।
सन् २०१८ देखि मिनेसोटाको पाँचौँ निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी उमर अमेरिकी प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो दुई मुस्लिम महिलामध्ये एक हुन्।
चुनावी अभियानका क्रममा ट्रम्पले उमरलाई बारम्बार निशाना बनाएका थिए। उनको विवाह र अमेरिकी नागरिकतामाथि प्रश्न उठाउँदै आएका ट्रम्पको विरोधका बाबजुद उमरले चुनाव जितेकी हुन्।
यसैबिच, उमरको आप्रवासनसम्बन्धी कागजात र आर्थिक विवरणमाथि संघीय अनुसन्धान भइरहेको छ। गत अक्टोबर १२ मा अनुसन्धान अधिकारीहरूले वासिङ्टनस्थित उनको निवासमा छापा मार्दै केही कागजात तथा विद्युतीय उपकरण जफत गरेका थिए।
अनुसन्धानमा उमरले अमेरिकी नागरिकता लिने क्रममा आप्रवासनसम्बन्धी कागजातमा गलत विवरण दिएको हो कि भन्ने विषयमा जाँच भइरहेको छ। सन् २००९ मा उनले विवाह गरेको व्यक्तिसँग सम्बन्धित पुरानो आप्रवासन ठगीको आरोप पनि फेरि चर्चामा आएको छ।
यस विषयमा सन् २०१६ मा अनुसन्धान सुरु भएको थियो। तर, सन् २०२१ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनका बेला अनुसन्धान बन्द गरिएको थियो।
उमरले आफूले कुनै गलत काम नगरेको बताउँदै आएकी छन्। उनीमाथि अहिलेसम्म कुनै आपराधिक अभियोग लागेको छैन। उनले अनुसन्धानलाई राजनीतिक उद्देश्यले गरिएको आक्रमण बताएकी छन्।
'ट्रम्पलाई मप्रति अस्वस्थ र डरलाग्दो आसक्ति छ,' उनले यसै साता द नेसनसँग भनेकी थिइन्।
उनका प्रवक्ता ज्याकी रोजर्सले पनि आरोपहरू अस्वीकार गर्दै यसलाई ट्रम्प प्रशासनको असफलताबाट ध्यान हटाउन गरिएको राजनीतिक प्रहार बताएका छन्।
चुनावी विवादबिच उमरले अनुसन्धानविरुद्ध कानुनी लडाइँका लागि समर्थकसँग आर्थिक सहयोगसमेत मागेकी थिइन्।
प्रकाशित: १८ कार्तिक २०८३ १२:४० बुधबार





