२५ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीबाट उडेको विमानमा अचानक पावर बैंक प`ड्किएपछि...

भारतको राजधानी दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगोको विमानमा यात्रुको झोलामा रहेको पावर बैंक विस्फोट भएपछि आगलागी भएको छ।

घटनापछि विमानलाई भारतको हैदराबाद विमानस्थलमा आपतकालीन अवतरण गराइएको दैनिक भास्करले जनाएको छ।

विमानमा धुवाँ देखेपछि यात्रुहरूले चालक दललाई जानकारी गराएका थिए। त्यसपछि क्याबिन क्रूले आगलागी नियन्त्रणमा लिएको र पाइलटहरूले विमानलाई हैदराबादतर्फ मोडेको इन्डिगोले जनाएको छ। यात्रुहरूलाई चेन्नई पुर्‍याउन अर्को उडानको व्यवस्था गरिएको कम्पनीले बताएको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा यात्रुहरू ‘आगो, आगो!’ भन्दै चिच्याएको र माथि सामान राख्ने ठाउँबाट झोला निकालिरहेको देखिन्छ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार पावर बैंक र अतिरिक्त लिथियम ब्याट्री हाते सामानमा मात्र राख्न पाइन्छ। उडानका क्रममा पावर बैंकबाट अन्य उपकरण चार्ज गर्न रोक लगाउन पनि डीजीसीएले सिफारिस गरेको थियो।

लिथियम ब्याट्रीमा खराबी आएमा आगलागी हुन सक्ने भएकाले यस्ता उपकरण प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने बताइएको छ।

यसअघि मे २०२६ मा पनि हैदराबादबाट चण्डीगढ जाँदै गरेको इन्डिगोको विमानमा यात्रुको झोलामा रहेको पावर बैंक विस्फोट हुँदा पाँच जना घाइते भएका थिए। विमानमा धुवाँ फैलिएपछि यात्रुहरूलाई आपतकालीन ढोकाबाट बाहिर निकालिएको थियो।

प्रकाशित: २५ आश्विन २०८३ २१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App