उत्तरी अफगानिस्तानमा राति गएको ६.३ म्याग्निच्युडको भूकम्पमा २० जनाभन्दा बढीको मृत्यु भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले करिब ३२० जना घाइते भएको जनाएको छ।
मृत्यु र घाइतेहरू बाल्ख र समंगन प्रान्तमा बढी छन्। मन्त्रालयका प्रवक्ता शराफत जमानले भिडियो सन्देशमा यस्तो जानकारी दिएका हुन्। उनका अनुसार भूकम्पले मजार-ए-शरीफको ब्लू मस्जिदमा पनि क्षति पुर्यायो, जुन १५ औं शताब्दीको जीवन्त टाइलहरूका लागि प्रसिद्ध छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार केन्द्रबिन्दु खुल्मबाट २२ किलोमिटर पश्चिम-दक्षिणपश्चिममा र २८ किलोमिटर गहिराइमा थियो। यो स्थानीय समय अनुसार राति १२:५९ बजे गएको थियो।
विपद् व्यवस्थापन निकायका प्रवक्ता युसुफ हम्मादले अधिकांश घाइतेहरूलाई सामान्य चोट लागेको बताए। कतिपयलाई प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको छ।
रक्षा मन्त्रालयले उद्धार टोलीहरू बाल्ख र समंगनमा पुगेको र घाइते ढुवानी तथा सहयोग वितरण सुरु गरेको जनाएको छ।
मजार-ए-शरीफमा सामाजिक सञ्जालका फुटेजहरूले ब्लू मस्जिदको मीनारबाट टुक्राहरू खसेको देखाएको छ। यो शताब्दीयौं पुरानो स्थल अफगानिस्तानको सम्मानित धार्मिक र पर्यटकीय ठाउँ हो।
पहाडबाट खसेका चट्टानले काबुल-मजार-ए-शरीफ राजमार्ग अवरुद्ध भएको थियो। तर पछि खोलिएको रक्षा मन्त्रालयले जनाएको छ। राजमार्गमा फसेका घाइतेहरूलाई अस्पताल लगिएको छ।
अफगानिस्तान निरन्तर भूकम्प जाने देशमा पर्छ। त्यहाँका भवनहरू कमजोर छन्, ग्रामीण क्षेत्रमा माटोको इँटा र काठका घरहरू बढी निर्माण हुने भएका कारण ठूलो मानविय क्षति हुने गरेको छ।
यसअघि अगस्ट ३१ मा पूर्वी अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्पमा २२ सयभन्दा बढीको मृत्यु भएको थियो। ७ अक्टोबर २०२३ मा ६.३ म्याग्निच्युडको भूकम्प र पराकम्पनमा कम्तीमा चार हजार जनाको मृत्यु भएको थियो। एजेन्सी
प्रकाशित: १७ कार्तिक २०८२ १४:२५ सोमबार


-600x400.jpg)


