१५ भाद्र २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा ‘तीन हजारको मृत्यु’ भन्दै अफवाह फैलाउनेसहित १० जनामाथि कारबाही

चीनको साइबर सुरक्षा प्रहरीले सिजाङ स्वायत्त क्षेत्रमा भएको पहिरोबारे गलत सूचना र अफवाह फैलाउने १० घटनामा कारबाही गरेको छ।

दक्षिणपश्चिम चीनको गाइरोङ बन्दरगाहमा भएको पहिरोपछि सामाजिक सञ्जालमार्फत हताहतको संख्या बढाएर प्रस्तुत गर्ने र विपद्सम्बन्धी गलत सूचना फैलाउनेहरूलाई प्रहरीले कारबाही गरेको हो।

सार्वजनिक सुरक्षा अधिकारीका अनुसार कारबाहीमा परेका अधिकांशले पहिरोमा मृत्यु भएका वा बेपत्ता भएका मानिसको संख्या बढाएर गलत सूचना फैलाएका थिए।

एक घटनामा किउ थरका एक इन्टरनेट प्रयोगकर्ताले ‘समाचारले एक हजार चार सय जना मारिएको बताउँछ, तर वास्तवमा तीन हजार जना बेपत्ता भइसकेका छन्’ भन्दै पोस्ट गरेका थिए। प्रहरीले उक्त दाबी गलत पाएपछि उनलाई प्रशासनिक जरिवाना गरेको छ।

त्यस्तै, लिउ थरका एक व्यक्तिले ‘चिनियाँतर्फ तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको छ’ भन्दै गलत सूचना फैलाएका थिए। उनीमाथि पनि प्रशासनिक जरिवाना गरिएको छ।

झाङ थरका अर्का व्यक्तिले ‘एक हजारभन्दा बढी मानिस बगेका छन्’ भन्दै पोस्ट गरेका थिए। उनले घटनास्थलमा सयौं कामदार, पर्यटक र सीमा पार गर्ने मानिस रहेकाले प्रभावितको संख्या एक हजारभन्दा बढी हुनुपर्ने दाबी गरेका थिए। प्रहरीले उक्त सूचना गलत पाएपछि उनलाई पनि जरिवाना गरेको छ।

चिनियाँ अधिकारीहरूका पहिरोमा परी १६ जनाको मृत्यु पुष्टि भएको छ। घटनामा २६१ विदेशी नागरिकसहित ५४६ जना अझै सम्पर्कविहीन छन्। ती विदेशी नागरिक २३ देशका रहेको अधिकारीहरूले बताएका छन्।

चीनको साइबर सुरक्षा प्रहरीले अप्रमाणित हताहतको संख्या र झुटा विपद् सूचना फैलाउँदा जनतालाई भ्रमित पार्नुका साथै अनावश्यक त्रास उत्पन्न हुन सक्ने बताएको छ। यसले उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने प्रहरीको भनाइ छ।

ग्लोबल टाइम्सका अनुसार चीनको कानुनअनुसार सार्वजनिक व्यवस्था खलल पार्ने गरी जानाजानी अफवाह फैलाउनेलाई १० दिनसम्म हिरासत र एक हजार युआनसम्म जरिवाना हुन सक्छ। गम्भीर घटनामा तीन वर्षसम्म जेल तथा गम्भीर परिणाम निम्तिएमा तीनदेखि सात वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ।

यसैबिच, चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिरोमा बेपत्ता भएका चिनियाँ तथा विदेशी नागरिकको खोजीका लागि हरसम्भव प्रयास भइरहेको बताएका छन्।

किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभसँगको भेटमा सीले प्रभावितलाई सुरक्षित स्थानमा सार्ने, घाइतेको उपचार गर्ने र थप विपद् रोक्न आवश्यक सबै उपाय अपनाइरहेको बताएका हुन्।

सो अवसरमा उनले चीनले नेपालमा उद्धार टोली पठाउनुका साथै आपत्कालीन सहयोग पनि उपलब्ध गराएको बताएका छन्।

प्रकाशित: १५ भाद्र २०८३ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App