१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिंसात्मक प्रदर्शनपछि श्रीलंकामा सैनिक परिचालन

सरकार समर्थकहरूले शान्तिपूर्ण प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई आक्रमण गरेको दुई दिनपछि श्रीलंकाली सरकारले राजधानी कोलम्बोमा हतियारसहितका गाडी तथा सैनिक परिचालन गरेको छ। 

सोमबार साँझदेखि देशभर कफ्र्यु लगाइए तापनि आगजनी तथा तोडफोडका घटना जारी छन्। सुरक्षाकर्मीलाई हिंसात्मक गतिविधिमा संलग्नमाथि गोली चलाउन निर्देशन दिइएको छ। सरकार विरोधी प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गरेका छन्। राष्ट्रपतिका भाइसमेत रहेका प्रधानमन्त्री महिन्दा राजापाक्षेले यही साता राजीनामा गरिसकेका छन्। आर्थिक रूपमा टाट पल्टेको श्रीलंकामा सर्वसाधारणले इन्धन, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको तीव्र अभाव बेहोरिरहेका छन्। विगत केही दिनमा भएका हिंसात्मक प्रदर्शनीका क्रममा आठजनाको मृत्यु भइसकेको छ भने २ सयजना घाइते भएका छन्। 

हतियारसहित ट्रक, मोटरसाइकलमा सवार सैनिकहरूले राजधानी कोलम्बोका सडकमा निगरानी गरिरहेका छन् भने देशभर सुरक्षाजाँच चौकीहरू स्थापना गरिएका छन्। राजनीतिक अस्थिरताका कारण सैनिकले शासन सम्हाल्न सक्नेसमेत आँकलन गरिएको छ।

रक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने सैनिकले शासन हातमा नलिने बताएका छन्। ‘सेना तथा नौसेना प्रमुख दुवैजना सत्ता हातमा लिने पक्षमा छैनन्। हाम्रो देशमा यसअघि यस्तो घटना घटेको छैन। यो त्यति सजिलो पनि छैन,’ उनले बताए। उनले सुरक्षा स्थितिमा सुधार भएपछि सैनिक ब्यारेकमा फर्कने बताए। नौसेनाका कमान्डर निसान्थ उलुगेट्नेले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेलाई उत्तरपूर्व क्षेत्रमा रहेको नौसेनाको शिविरमा सुरक्षित राखिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री राजापाक्छेले राजीनामा गरेपछि उनी र उनका परिवारलाई सरकारी आवासबाट उक्त शिविरमा पुर्‍याइएको थियो। प्रदर्शनकारीहरूले उनको आवासभित्र छिर्ने प्रयास गरेका थिए। केही राजनीतिक व्यक्ति र सम्बद्ध परिवारजन भारततर्फ भागेको भन्ने समाचारको भारतीय दूतावासले खण्डन गरेको छ। दूतावासले श्रीलंकामा भारतले सैनिक पठाउन लागेको भन्ने समाचारको पनि खण्डन गरेको छ। श्रीलंकाको आर्थिक संकट समाधान गर्न भारतले साढे तीन अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ।  

सोमबार प्रधानमन्त्री राजापाक्छेको निवासअगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई सेनाले आक्रमण गरेका थिए। उक्त दिनको हिंसात्मक घटनामा सत्तारुढ पार्टीका एक सांसद, दुई प्रहरी अधिकृतसहित आठजनाको मृत्यु भएको थियो भने २१९ जना घाइते भएका थिए। रक्षा मन्त्रालयका अनुसार उक्त घटनामा १ सय ४ भवन र ६० सवारीसाधनमा आगजनी भएको थियो। युरोपियन युनियनले हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।  

श्रीलंकाको वैदेशिक ऋण ५१ अर्ब अमेरिकी डलर छ। श्रीलंकाले यो वर्ष चुक्ता गर्नुपर्ने ७ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक ऋण तिर्न सकेको छैन। यसैगरी सन् २०२६ सम्म २५ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक ऋण तिरिसक्नुपर्ने छ। वैदेशिक मुद्रा सञ्चितिको अभावमा श्रीलंकाले अत्यावश्यक खाद्यान्न, कुकिङ ग्याँस, इन्धन तथा औषधीको आयात गर्न सकेको छैन। (एपी)

प्रकाशित: २९ वैशाख २०७९ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App