७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘ओमिक्रोन छिटो सर्ने मध्यम भेरिएन्ट’

पछिल्ला क्लिनिकल डाटा र प्रयोगशालामा भएका अध्ययनले ओमिक्रोन भेरिएन्ट यसअघिका अन्य भेरिएन्टभन्दा मध्यम खाले भएर पनि छिटो सर्न सक्ने क्षमता राख्ने देखाएकाले यसबारे विश्वव्यापी चासो छ। ‘यो अत्यन्त छिटो सर्छ तर संक्रामकताका हिसाबले अल्फा र डेल्टाजस्तो खतरनाक छैन,’ हस्टन मेथोडिस्ट अस्पतालअन्तर्गतको प्याथोलोजी तथा जेनोमिक मेडिसिन डिपार्टमेन्टका अध्यक्ष तथा ओमिक्रोनसम्बन्धी नयाँ अध्ययनका प्रमुख अनुसन्धानकर्ता जेम्स मुसर भन्छन्।

प्रयोगशालामा गरिएका पछिल्ला अध्ययनले ओमिक्रोन कम संक्रामक हुनुमा यो भेरिएन्ट फोक्सोमा भन्दा श्वासप्रश्वास नलीको उपल्लो भागमा बढी बाँच्न सक्ने भएका कारण हुन सक्ने देखाएका छन्। फोक्सोमा कोभिड–१९ को संक्रमण हुँदा श्वासप्रश्वासमा गम्भीर समस्या हुने गरेको पाइएको छ। क्याम्ब्रिज विश्वविद्यालय र हङकङ विश्वविद्यालयले श्वासप्रश्वास तन्तुमा हालै गरेका अध्ययनले ओमिक्रोनले श्वासनलीको उपल्लो भाग (ब्रोन्ची) का कोषिकालाई संक्रमण गर्ने क्षमता राख्ने देखाएका छन्। उता डेल्टा भेरिएन्टले फोक्सोका कोषिकालाई संक्रमण गर्ने र फोक्सोभित्रै फैलन सक्ने क्षमता राख्छ।

‘श्वासनलीको तल्लो भागमा हुने भाइरसको फैलावट (रेप्लिकेसन) ले गम्भीर रोग निम्त्याउने गर्छ। तर, उपल्लो भागमा हुने संक्रमणले रोगको गम्भीरता कम हुन्छ,’ अध्ययनमा सहभागी युनिभर्सिटी अफ क्याम्ब्रिजका भाइरोलोजिस्ट रवीन्द्र गुप्ता भन्छन्। वैज्ञानिकले मुसा र हेम्सटरमा गरेका समान अध्ययनले पनि यो भेरिएन्टले नाकको नली (नसल प्यासेज) मा संक्रमण गर्ने र अन्य भेरिएन्टले फोक्सोमा आक्रमण गर्ने देखिएको छ। डिसेम्बर २९ मा सार्वजनिक गरिएको उक्त अध्ययनले ओमिक्रोन संक्रमित जनावर अन्य भेरिएन्टबाट संक्रमित जनावरको तुलनामा गम्भीर हिसाबले बिरामी परेनन्।

‘यसले के देखाउँछ भने यो भेरिएन्टलाई माथिल्लो भागबाट तत्लो भागमा पुग्न गाह्रो पर्ने देखिएको छ,’ अध्ययनमा सहभागी वासिङ्टन विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेडिसिनका भाइरल इम्युनोलोजिस्ट डा. माइकल डायमन्डले भने, ‘मानिसमा पनि यही कारण जिम्मेवार छ या छैन भन्ने विषयमा अझै यकिन भइसकेको छैन।’ डायमन्डका अनुसार अन्य कोरोना भाइरसका भेरिएन्टका तुलनामा ओमिक्रोनले हेम्सटरको श्वासनलीको उपल्लो भागमा संक्रमण गर्न सक्ने विशेष क्षमता राखेको देखिएको छ भने फोक्सोमा संक्रमण देखिएको छैन।

पहिलो पटक ओमिक्रोन देखिएको दक्षिण अफ्रिकामा भएका अध्ययनका नतिजाले पनि यस्तै नतिजा देखाएका छन्। ‘अस्पतालमा भर्ना भएका बिरामीमा कोभिड–१९ सम्बन्धित निमोनिया र फोक्सोमा गम्भीर समस्या देखिएको थिएन। गम्भीर बिरामीमा यसअघि यस्ता लक्षण देखिन्थे,’ जोहानेसबर्गमा रहेको नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजेजका जनस्वास्थ्य विज्ञ वासिला जसाटले भनिन्।

‘तर प्रयोगशालामा अन्य जनावरमा गरिएका परीक्षणको नतिजा मानिसमा लागु हुन्छ अथवा हुँदैन भन्ने विषयका आफ्नै सीमा छन्,’ युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्चका भाइरोलोजिस्ट डा. भिनित मेनाचेरीले तर्क गरे। ‘हेम्सटर र मुसाको फोक्सो समान प्रकृतिका भए पनि श्वासनलीको उपल्लो भाग र मानिसको श्वासनलीको उपल्लो भाग त्यति समान हुँदैन,’ उनले भने।

ओमिक्रोन भेरिएन्टको स्पाइक प्रोटिनमा भएको विशेष उत्परिवर्तन (म्युटेसन) का कारण भाइरसले मानव कोषिकासँग टाँसिने र कोषिकाभित्र छिर्न सक्ने भएकाले यो भेरिएन्टको छिटो फैलावट हुन सक्ने मानिएको छ। ‘जतिबेला यो भेरिएन्टले कोषिकालाई संक्रमण गर्ने बढी क्षमता राख्छ, त्यतिबेला यसको प्रसारण क्षमता पनि अधिक रहन्छ,’ डा. मेनाचेरी थप्छन्।

पछिल्ला अध्ययनले केही नतिजा दिए पनि वैज्ञानिकले विश्वका सयभन्दा बढी देशमा फैलिएको ओमिक्रोनबारे अझै पनि धेरै प्रश्नका उत्तर दिन सकेका छैनन्। उदाहरणका लागि लक्षणसहितका ओमिक्रोन संक्रमितमध्ये खोप नलगाएका, खोप लगाएर अथवा यसअघि संक्रमित भएर प्राकृतिक हिसाबले रोग प्रतिरोधी क्षमताको विकास गरेकाहरूमा रोगको विकास क्रम किन फरक छ भन्ने विषय अझै प्रस्ट छैन।

सुरुका नतिजाले यसअघि नै प्रतिरक्षा क्षमता विकास गरेका मानिसमा संक्रमण मध्यम खाले हुने देखाएका थिए। यसैगरी, अस्पताल भर्ना हुने दर कम हुनु तथा श्वासप्रश्वासका लागि सहयोग गर्नुपर्ने अवस्था नभए पनि पछिल्ला दिनमा देखिएको तीव्र फैलावटको पृष्ठभूमिमा अन्य भेरिएन्टभन्दा ओमिक्रोन कम खतरनाक रहेको निष्कर्ष निकाल्न हतार गर्न नहुने अन्य अनुसन्धानकर्ताको तर्क छ।

‘मृत्यु दर पनि कम होला भनेर आँकलन गर्न कठिन छ,’ युनिभर्सिटी अफ क्यालिफोर्नियाअन्तर्गतको डिपार्टमेन्ट अफ मेडिसिनका अध्यक्ष रबर्ट वाचटरले भाने। यो सन्दर्भमा खोप लगाएका र पहिल्यै संक्रमित भएर प्रतिरक्षा क्षमताको विकास गरेकाहरू मध्यम हिसाबले बिरामी पर्नुलाई थप अध्ययन आवश्यक देखिएको छ। ‘यी दुवै अवस्थालाई छुट्याउन कठिन छ। अधिक प्रतिरक्षा क्षमता राख्ने जनसांख्यिक समूहका कारण रोगको गम्भीरता कम भएको हो अथवा भाइरस आफैं कम खतरनाक रहेको हो भन्ने विषय अझै प्रस्ट छैन,’ वाचटले भने।

डा. मुसर र अन्य अनुसन्धानकर्ताले गरेको पछिल्लो अध्ययनले पनि ओमिक्रोन संक्रमितलाई अस्पताल भर्ना र सघन उपचारको आवश्यकता कम पर्ने देखाएको छ। ‘खोप, उमेर, जोखिमका अन्य अवस्थालाई समेत समेटेर तुलना गर्ने हो भने डेल्टाको तुलनामा ओमिक्रोनको गम्भीरता ६० देखि ७० प्रतिशत कम छ,’ युनिभर्सिटी अफ क्यालिफोर्नियाका डा. वाचटर तर्क गर्छन्। तर, ओमिक्रोन संक्रमितको उच्च संख्याले अमेरिकाका अस्पतालले बिरामीको चाप थेग्न नसक्ने तर्क जनस्वास्थ्य अधिकारीको छ।

जनवरी ६ अघिको एक सातामा अमेरिकामा दिनहुँ ६ लाखभन्दा बढी संक्रमित थपिएको देखिएको छ। यो अवस्थामा अधिक जनसंख्याले खोप, बुस्टर खोप लगाउन आवश्यक देखिएको छ। सँगसँगै मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्न पनि उत्तिकै आवश्यक छ।

‘जब संक्रमितको संख्या थेगिनसक्नु हुन्छ, अस्पताल भर्ना गर्नुपर्ने दर ह्वात्तै बढ्नेछ, यो जनस्वास्थ्यका लागि ठुलो चिन्ताको विषय हो। त्यसै आउँदो ६ देखि ८ हप्तासम्म संयमित भएर सक्दो तयारी गर्न आवश्यक छ,’ बोस्टन विश्व विद्यालय अन्तर्गतका सरुवा रोग, नीति तथा अनुसन्धान केन्द्रका सरुवा रोग विज्ञ नाहिद भादेलियाले सुझाव दिए। (वाल स्ट्रिट जर्नल)

प्रकाशित: २६ पुस २०७८ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App