एक नयाँ सर्वेक्षणले अधिकांश युवा अमेरिकीहरू आफ्नो देशको वर्तमान दिशाप्रति गर्व नरहेको देखाएको छ।
अमेरिकन युनिभर्सिटीको साइन इन्स्टिच्युट अफ पोलिसी एन्ड पोलिटिक्सले गरेको सर्वेक्षणअनुसार १८ देखि ३४ वर्ष उमेर समूहका ७० प्रतिशतले अहिले ‘अमेरिका राष्ट्रका रूपमा जुन दिशातर्फ अघि बढिरहेको छ’ त्यसप्रति आफूलाई गर्व नभएको बताएका हुन्।
त्यस्तै, अमेरिकाको अहिलेको अवस्थाबारे सोध्दा ७१ प्रतिशत युवा अमेरिकीले आफूलाई गर्व नलाग्ने बताए। अध्ययनमा युवा मिलेनियल्स र वयस्क जेनजी सदस्यलाई सहभागी गराइएको थियो।
यी पुस्ता अमेरिकामा लामो समयदेखि राजनीतिक विवाद र सामाजिक परिवर्तनबिच हुर्किएको अध्ययनमा उल्लेख छ। यस पुस्ताले सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी हमला, कोभिड-१९ महामारीलगायत अमेरिकाको राजनीति र समाजमा ठुलो प्रभाव पारेका घटनाहरू देखेको छ।
तर, वर्तमान र भविष्यप्रति निराशा देखिए पनि अमेरिकाको विगतप्रति भने युवामा केही सकारात्मक धारणा देखिएको छ। सर्वेक्षणमा सहभागीमध्ये ५९ प्रतिशतले अमेरिकाको विगतप्रति आफूलाई गर्व लाग्ने बताएका छन्।
साइन इन्स्टिच्युटकी वरिष्ठ सल्लाहकार मोली ओ’रोर्कले युवाहरू तीव्र गतिमा परिवर्तन भइरहेको अमेरिकामा आफ्ना व्यक्तिगत जिम्मेवारीसँगै अन्य जिम्मेवारी पनि सम्हालिरहेको बताउँछिन्।
‘युवाहरू तीव्र गतिमा परिवर्तन भइरहेको अमेरिकामा अघि बढिरहेका छन्। उनीहरूले आफूभन्दा बाहिरसम्म फैलिएका जिम्मेवारी पनि सम्हालिरहेका छन्,’ उनले सर्वेक्षणको निष्कर्षसम्बन्धी प्रतिवेदनमा भनेकी छन्। उनका अनुसार देशको अवस्थाबारे युवाहरूको धारणा यो पुस्ताको अवस्थाबारे महत्त्वपूर्ण संकेत हो।
सर्वेक्षण सार्वजनिक भइरहेका बेला अमेरिकी जनतामा डोनाल्ड ट्रम्प प्रशासनप्रति विभिन्न विषयमा असन्तुष्टि र शंका बढिरहेको बताइएको छ। विशेषगरी इरानसँगको युद्धलाई सम्हाल्ने तरिका, बढ्दो महंगी र आप्रवासनजस्ता विषयलाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठिरहेका छन्।
अमेरिकाले आफ्नो स्थापनाको २५०औं वार्षिकोत्सव मनाइरहेका बेला सार्वजनिक भएको यो सर्वेक्षणले युवामा देशको वर्तमान अवस्था र भविष्यप्रति चिन्ता रहेको देखाएको छ।
पछिल्लो समय अमेरिकामा डोनाल्ड ट्रम्पको लोकप्रियता पनि घट्दै गएको छ। मंगलबार साँझसम्म ट्रम्पको स्वीकृति दर ३९.२ प्रतिशत थियो भने उनको कामप्रति असन्तुष्ट हुनेको दर ५७.२ प्रतिशत थियो।
अमेरिकन युनिभर्सिटीले जुलाई २३ देखि अगस्ट १ सम्म गरेको सर्वेक्षणमा एक हजार ३१ जना सहभागी थिए।
प्रकाशित: १७ भाद्र २०८३ १३:५५ बुधबार



-600x400.jpg)

