बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नभएको भन्ने हल्ला प्रति असहमति जनाउँदै सुरुदेखि नै प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधिसँग निरन्तर संवाद भइरहेको बताए।
उनले प्रभावित क्षेत्रमा पुगेर बागमती प्रदेशका मुख्यमन्त्रीसहितको टोलीसँग छलफल गरिएको जानकारी दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत स्थानीय तहसँग समन्वय गरी विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारी थप गम्भीरतापूर्वक निर्वाह गर्ने निर्णय गरेको उनले बताए।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई सरकारले प्राथमिकतामा राखेको बताए।
साथै सरकारको मुख्य प्राथमिकता सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भएको बताए।
प्रकाशित: १७ भाद्र २०८३ १३:५६ बुधबार





-600x400.jpg)