१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीन जापानीलाई नोबेल पुरस्कार

स्टकहोम– तीन जापानी वैज्ञानिक इसामु आकासाकी, हिरोसी अमानो र सुजी नाकामुराले भौतिकशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार हात पारेका छन्।थोरै ऊर्जामा पर्याप्त उज्यालो दिने वातावरणमैत्री लेड चिम विकास गरेका तीन जापानी वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ। उनीहरूले अनुसन्धान र विकास गरेको लेड चिमले पृथ्वीको तापक्रम बढ्न नदिने र गरिबीमा पिल्सिएकालाई राहत दिएको बताइएको छ। 
जापानका आकासाकी, अमानो र नाकामुराले लेड (एलइडी– लाइट एमिटिङ डायड) चिमको अनुसन्धान तथा विकास गरेका थिए। अमेरिकी नागरिकता लिएका नाकामुरा भने अहिले क्यालिफोर्नियामा बसोबास गर्छन्। 
नोबेल पुरस्कार समितिले यस वर्षका पुरस्कार विजेताले नयाँ ऊर्जा प्रभावकारी र वातावरणमैत्री प्रकाशको स्रोत पत्ता लगाएको उल्लेख गरेको छ। समितिले उनीहरूको खोज क्रान्तिकारी भएको, २० औं शताब्दीलाई चम्किलो हलुको चिमले उज्यालो दिएको र २१ औं शताब्दीलाई भने लेड चिमले उज्यालो पार्ने उल्लेख गरेको छ। 
जापानी अनुसन्धाताहरूले सन् १९९० को दशकमा सेमीकन्डक्टरबाट चम्किलो निलो प्रकाश खोजी गरेको र यसले प्रकाशजन्य प्रविधि नै परिवर्तन गरेको निर्णायक समितिले जनाएको छ। रातो र हरियो डायड निकै पहिले विकास भएको तर निलो प्रकाश नभई सेतो चिम असम्भव भएको पनि समितिले उल्लेख गरेकेा छ। 
निलो लेडको विकास तीन दशकसम्म चुनौतीपूर्ण रहेको समितिको विज्ञप्तिमा छ। समितिका अनुसार अनुसन्धानकर्ताले चुनौतीपूर्ण क्षेत्रमा उल्लेखनीय सफलता पाएका हुन्। 
समितिले लेड चिमको विकासले प्रकाशको पुरानो स्रोतभन्दा दीर्घकालीन र प्रभावकारी विकल्प दिएको उल्लेख गरेको छ। लेड चिमले चम्किलो सेतो प्रकाश छर्छ र यो टामस एल्भा एडिसनले १९ औं शताब्दीमा पत्ता लगाएको चम्किलो हलुको चिम बल्न चाहिने ऊर्जाभन्दा निकै थोरै ऊर्जामा दशौं हजार घण्टा प्रकाश दिन्छ। 
अहिलेसम्म विकसित लेड चिमले सामान्य चिमभन्दा २० गुणा थोरै विद्युत खर्च गर्छ र यसको क्षमतामा पनि निरन्तर सुधार भईरहेको छ। विश्वमा उत्पादन हुने एक चौथाइ विद्युत बत्ति बाल्न उपयोग हुन्छ। अधिकांश राष्ट्रमा सरकारले जैविक इन्धनबाट अनावश्यक ताप उत्पन्न हुन नदिन लेड चीम प्रयोग गर्न प्रयास गरिरहेका छन्। विद्युतीय ऊर्जा उत्पादन गर्न जैविक इन्धन बाल्ने गरिन्छ। 
लेड चिमलाई निकै थोरै विद्युत ऊर्जा आवश्यक पर्ने भएकाले सौर्य शक्तिबाट पनि लेड चिम बाल्न सकिन्छ। यसले विद्युतीय सञ्जालमा नआएका १ अर्ब ५० करोड जनतालाई फाइदा पुर्यााउन सक्ने देखिएको छ। समितिले लेड प्रविधि विकास भएको २० वर्ष भए पनि यसले नयाँ प्रविधिबाट प्रकाश उत्पादन गर्न सहयोग पुगेको र यसले सबैलाई फाइदा दिएको उल्लेख गरेको छ। 
नोबेल पुरस्कारका अन्य विजेताभन्दा फरक रूपमा नाकामुरालाई जापानको एउटा सानो कम्पनी निचिया केमिकल्सले आफ्नो कम्पनीमा काम गर्ने अवसर दिएको थियो। उनले निचिया कम्पनीमा काम गरेकै बेला लेडबारे अनुसन्धान गरेका थिए। पुरस्कार समितिले उनलाई टेलिफोनमा सम्पर्क गर्दा उनले आफूले नोबेल पाएको विश्वास गर्न नसकेको बताएका थिए। 
लेडबारे अनुसन्धान गर्दा आकासाकी अमानोसँगै नागोया विश्वविद्यालयमा काम गर्थे। आकासाकीको जन्म सन् १९२९ मा भएको थियो। उनी हाल नागोयास्थित मैजी विश्वविद्यालयमा प्राध्यापक छन्।सन् १९६० मा जन्मिएका अमानो पनि नागोया विश्वविद्यालयमा प्राध्यापक छन्। 
नाकामुराको जन्म १९५४ मा जापानमा भएको थियो। अमेरिकी नागरिकता लिएका उनी अहिले सान्ता बारबरास्थित क्यालिफोर्निया विश्वविद्यालयमा प्राध्यापक छन्। 
पुरस्कार विजेताले ८० लाख स्विडिस क्रोनर (११ लाख अमेरिकी डलर/ ८ लाख ८३ हजार युरो) आपसमा बाँड्नेछन्। परम्पराअनुसार सन् १८९६ मा पुरस्कार संस्थापक अल्फ्रेड नोबेलको देहावसान भएको दिन डिसेम्बर १० मा स्टकहोममा हुने औपचारिक समारोहमा विजेतालाई पुरस्कार दिइनेछ।

प्रकाशित: २१ आश्विन २०७१ २१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App