१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइएसविरुद्ध फेरि हवाई आक्रमण

अंकारा (टर्की)– अमेरिकी नेतृत्वमा सिरियाका कोबानलगायत सहरमा सुन्नी उग्रवादी इस्लामिक स्टेट आइएसविरुद्ध मंगलबार हवाई आक्रमण फेरि सुरु भएको छ।

टर्कीको सीमावर्ती सिरियाली सहर कोबानमा कुर्द र सुन्नी उग्रवादी इस्लामिक स्टेट आइएस लडाकुबीच मंगलबार भीषण संघर्ष भइरहेको छ। सञ्चारमाध्यमले सिरियाको दक्षिण पश्चिमी सीमावर्ती क्षेत्रमा आक्रमण गरिएको जनाएका छन्।
कुर्द–आइएस लडाकु भीषण संघर्षमा कोबान आइएसको नियन्त्रणमा जान सक्ने बेलायती सञ्चारमाध्यम बिबिसीले कोबानस्थित आफ्ना सम्वाददातालाई उद्धृत गर्दै जनाएको छ। कोबानको पूर्वी भूभागस्थित एउटा पहाडमा आइएसको झन्डा गाडिएको छ। स्थानीय अधिकारी इद्रीस नासानले कोबानमाथिको मिस्तेनुर पर्वतमा आइएस लडाकुको नियन्त्रण रहेको पुष्टि गरे।
कोबानमा तिन दिनयता कुर्द र आइएस लडाकुबीच भइरहेको भीषण संघर्षमा कुर्दहरू सहरमा आइएस लडाकुको कब्जा हुनबाट जोगाउन ज्यानको बाजी लगाइरहेको सञ्चारमाध्यमले जनाएका छन्। आइएस लडाकुले भने तीन सातादेखि कोबानलाई घेराबन्दी गरेका छन्। 
तीन सातायता त्यस क्षेत्रबाट करिब १ लाख ६० सिरियाली पलायन भएर टर्की पसेका छन्। त्यहाँबाट पलायन हुनेमा अधिकांश कुर्द समुदायका मानिस छन्। 
आइएस लडाकुले कुर्दबहुल सहर कोबान कब्जा गरे सिरिया–टर्कीको लामो सीमामा उनीहरूको बलियो नियन्त्रण स्थापित हुनेछ। अमेरिकी नेतृत्वमा कोबानमा मंगलबार बिहानैदेखि आक्रमण गरेको बताइएको छ। 
कोबान वरिपरीका केही भूभाग र जिल्ला आइएसले कब्जा गरेको केही दिनपछि उनीहरूविरुद्ध हवाई आक्रमण गरिएको हो। 
आइएस लडाकुले सिरिया र इराकमा हिंसा मच्चाइरहेका छन्। उनीहरुले पूर्वी इराकमा सयौं नागरिकको हत्या गरिसकेका छन्। अमेरिकी नेतृत्वमा केही मध्यपूर्वी राष्ट्रसमेत सम्मिलित सेनाले केही दिनदेखि इराकमा पनि हवाई कारबाही गरिरहेको छ। 
आक्रमणका वावजुद पनि आइएसको प्रभाव उल्लेखनीय रुपमा घट्न सकेेको छैन। यसअघि पनि सिरियाका विभिन्न सहरमा अमेरिकी नेतृत्वको सेनाले हवाई आक्रमण गरेको थियो। 

राष्ट्र संघका महासचिवको अपिल

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले सिरियाका उत्तरी सहरका बासिन्दाको जीवन रक्षाका लागि अपिल गरेका छन्।
सिरियाको उत्तरी सहर आयन अल–अरब आइएस लडाकुले कब्जा गरेेका कारण त्यहाँका बासिन्दामा त्रास छाएको छ। अल–अरबका बासिन्दा असुरक्षित रहेका र उनीहरुले खान र बस्न समेत समस्या भोग्नुपरिरहेको भन्दै यसबाट उत्पन्न हुने समस्या समाधानका लागि विश्वका नेताहरुसँग महासचिव बानले आग्रह गरेका हुन्।
त्यस क्षेत्रबाट हजारौं बासिन्दा भागिरहेका छन्। विस्थापित हुनेहरुलाई पनि आइएस लडाकुले रोकिरहेको बताइएको छ। आइएसले त्यस क्षेत्रमा मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरी त्रास फैलाइरहेको महासचिव बानका प्रवक्ताले जनाएका छन्। 
महासचिव बानले आइएससँग पनि मानवअधिकार हनन् नगर्न र नागरिकको बाँच्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरेका छन्। आइएसले सिरिया र इराकमा सयौं मानिसको हत्या गरेका छन्। उनीहरुले पछिल्लो समय दुवै देशमा हिंसा र आतंक मच्चाएका छन्।

५ कुर्दिस सैनिक मारिए

इराकमा आइएस लडाकुको आक्रमणमा कम्तीमा ५ कुर्दिस सैनिक मारिएका छन्। 
पूर्वी इराकस्थित जलावला सहरमा आइएस लडाकुले सोमबार साँझ आक्रमण गरेका थिए। इराकी सुरक्षा अधिकारीले हत्याको पुष्टि गरेका छन्। उनीहरुले आइएसको आक्रमणमा ती सैनिक मारिएको बताएका छन्।
दियाला प्रान्तमा रहेको सैनिक पोष्टका अधिकारीले दिएको जानकारीअनुसार इराकको जलावलामा आइएसले ठूलो संख्यामा आफ्ना लडाकु तैनाथ गर्न थालेका थिए। धेरै लडाकु तैनाथ गरेको सूचनाको आधारमा इराकी सैनिक नेतृत्वमा त्यहाँ कारबाही सुरु भएको थियो। कारबाहीका क्रममा आइएसबाट भएको आक्रमणमा ती सैनिक मारिएको बताइएको छ।
इराकमा एक महिनामा हजारभन्दा बढी मारिए
यसैबीच इराकमा गत महिना भएका हिंसामा कम्तीमा १ हजार १ सय १९ जनाको मृत्यु भएको छ। 
राष्ट्र संघले यसै साता प्रकाशित गरेको प्रतिवेदनमा हजारभन्दा बढी मारिएको उल्लेख गरेको छ। इराकमा विशेषगरी हिंसाग्रस्त पश्चिमी प्रान्त अन्वरमा आइएस लडाकुसँगको संघर्षमा मारिएकाको संख्या जोडिएको छैन। 
यसरी मारिनेमा ८ सय ५४ सर्वसाधारण छन् भने २ सय ६५ सुरक्षाकर्मी छन्। राष्ट्र संघीय इराकी नियोगले ती नागरिक सेप्टेम्बर महिनामा मारिएको जनाएको हो। यस अवधिमा हिंसाका कारण घाइते हुनेको संख्या २ हजार पुगेको छ। 
तर गत महिना मारिनेको संख्या जुलाई र अगस्तमा मारिएककाको भन्दा थोरै हो। जुलाईमा १ हजार ७ सय ३७ मारिएका थिए भने अगस्तमा १ हजार ४ सय २० जना मारिएका थिए। 
अगस्तमा पश्चिमी भागमा सबैभन्दा बढी हिंसाका घटना भएका थिए। त्यहाँ आइएस लडाकुले सैनिक केन्द्रमा आक्रमण गरेका थिए। आक्रमणमा सयौं जना मारिएको अनुमान गरिएको थियो।

प्रकाशित: २१ आश्विन २०७१ २१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App