१५ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा पुनः कोरोना महामारी

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ। योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ।

यहाँ गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदिने बिदा थियो। यो बेला मानिसको अत्यधिक चहलपहल भयो। त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ। सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो।

बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले सङ्क्रमितको सङ्ख्या बढेको हो। सङ्क्रमणकै कारण कोरोना परीक्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ। शुक्रबारको तुलनामा शनिबार कूल सङ्क्रमितको सङ्ख्या ८३९ ले बढी हो। शनिबार थपिएका कूल सङ्क्रमितमध्ये तीन हजार २४५ स्थानीय सङ्क्रमित छन भने बाँकी बाहिरबाट सङ्क्रमित भई आउने छन्।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ। हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ। सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने बनाएको छ। रासस

प्रकाशित: ११ आश्विन २०७८ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App