२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

मध्य जापानमा आइतबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा २४ जना घाइते भएका छन् भने भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा प्रभावित भएको छ। जापानका अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले भूकम्पबाट भएको क्षतिबारे जानकारी दिएका छन्।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।

भूकम्पबाट अहिलेसम्म कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन। तर विभिन्न स्थानमा पसलका झ्यालका सिसा फुटेका छन् भने दराज र र्‍याकमा राखिएका सामान भुइँमा खसेका छन्।

आइची क्षेत्रका एक आपत्कालीन सेवा अधिकारीका अनुसार त्यहाँ १६ जनालाई सामान्य चोटपटक लागेको जानकारी प्राप्त भएको छ। छिमेकी सिजुओका क्षेत्रका अधिकारीले कम्तीमा तीन महिला उपचारका लागि अस्पताल पुगेको बताएका छन्। तीमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको थियो।

स्थानीय पत्रिका चुनिची सिम्बुन र तोकाई टेलिभिजनले छुट्टाछुट्टै समाचारमार्फत आइची र सिजुओका क्षेत्रमा कम्तीमा २४ जना घाइते भएको जनाएका छन्।

आइचीको तोयोहासी सहरमा एउटा कार प्रदर्शनी कक्षका झ्यालका सिसा फुटेका छन्। त्यस्तै, टोयोटा सहरको ठूलो पुस्तक पसलमा दराजबाट किताब तथा अन्य सामान खसेका छन्।

भूकम्पका कारण आइतबार बिहान क्षेत्रीय रेल सेवासहित सिन्कान्सेन बुलेट रेलको सञ्चालनमा ढिलाइ भएको थियो। केही रेल सेवा अस्थायी रूपमा रोकिएका थिए। भूकम्पको धक्का पश्चिममा ओसाकासम्म महसुस गरिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाकामा एक विदेशी नागरिक भूकम्पको धक्काले आत्तिएर अपार्टमेन्टको दोस्रो तलाबाट खसेपछि अस्पताल भर्ना भएका छन्। यस घटनाबारे ओसाका अधिकारीबाट तत्काल थप जानकारी प्राप्त हुन सकेको छैन।

यसैबीच, आइतबार बिहानै जापानको कुमामोतो क्षेत्रमा ४.३ म्याग्निच्युडको अर्को भूकम्प गएको मौसम विज्ञान एजेन्सीले जनाएको छ। उक्त भूकम्पबाट कुनै गम्भीर क्षति वा मानवीय चोटपटक भएको तत्काल खबर प्राप्त भएको छैन।

जापान प्रशान्त महासागरको 'रिङ अफ फायर' क्षेत्रमा पर्ने भएकाले यहाँ हरेक वर्ष सयौँ भूकम्प जाने गर्छन्। सन् २०११ मा जापानमा ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि आएको विनाशकारी सुनामीमा परी करिब १८ हजार ५०० जनाको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका थिए। उक्त विपत्तिले फुकुसिमा आणविक केन्द्रमा समेत ठूलो क्षति पुर्‍याएको थियो। एजेन्सी

प्रकाशित: २२ कार्तिक २०८३ १७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App