२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन्। 

ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो ब्युरो पुगेर उजुरीकर्ता पत्रकार रोशन खड्कासँग सहमति गरी साँझ फर्किएका हुन्। 

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका थिए। सो क्रममा सहमहामन्त्री शिवाकोटीले पनि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका थिए। 

जसलाई समाधान गर्नका लागि साइबर ब्युरोले दुवै पक्षलाई आइतबार दिउँसो बोलाएको थियो। दुवै पक्ष अब आइन्दा सामाजिक सञ्जालमा अप्रमाणित कुराहरू नराख्न राजी भएसँगै सहमतिमा निकास निस्केको हो। 

कथंकथाचित भोलिका दिनमा फेरि कुनै अप्रमाणित कुराहरू दुवै पक्षले राखेका खण्डमा जुनसुकै बेला पनि साइबर ब्युरोले बोलाउन सक्ने भएको छ। 

शिवाकोटी भित्र जाँदा कानुन व्यवसायीलाई सँगै लैजान चाहे पनि प्रहरीले कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको थियो। प्रहरीले कानुन व्यवसायीलाई नभई उजुरी मात्र परेकाले दुवै पक्षलाई सँगसँगै राखेर सहमति निकाल्ने अहम् भूमिका खेलेको थियो। 

शिवाकोटीले प्रतिपक्ष दलको नेताका हैसियतमा सरकारले गरेका कामका बारेमा प्रश्न उठाउँदै आएका छन्। सो क्रममा पत्रकार खड्का पनि जोडिएपछि त्यसबारेमासमेत लेखेका थिए। तर खड्का भने साइबर ब्युरोमा उजुरी दिन पुगेका थिए।  

शिवाकोटीले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढंगले जवाफ देओस् भनी लेखेका थिए। 

शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन्। 

यसअघि उनलाई गत साता नै साइबर ब्युरोले खोजेको थियो। उनी धार्मिक यात्रामा भारतमा रहेका बेलामासमेत उनलाई साइबर ब्युरोले खोजेको तर सम्पर्क नभएपछि साथीहरूमार्फत उनले ब्युरोले खोजेको खबर पाएका थिए। 

त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर गत बिहीबार नै काठमाडौँ फर्केका थिए। यसको जानकारी सर्वत्र भए पनि प्रहरीले कुनै सम्पर्क गरेन। यद्यपि चाडबाडमा लक्ष्मी पूजा गर्ने बेलामा साइबर ब्युरोले कार्यालयमा बोलाएपछि उनी सहजै गएर आफ्नो नैतिकवान् नेताको भूमिका देखाउन सफल भए।

प्रकाशित: २२ कार्तिक २०८३ १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App