१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा दुई जनाको मृत्यु

क्याप्शन

भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ। पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ।  

ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल राज्यको सत्तारुढ त्रिणमुल कङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुबीच ठाउँठाउँमा झडप भएका छन्।

राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उनको दल भारतीय जनता पार्टी र पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ। बङ्गालको नन्दीग्राम शहरमा खासगरी दुबै पक्षबीच कडा प्रतिस्पर्धा छ, र यहाँको वातावरण पनि निकै तनाबग्रस्त छ।  

प्रधानमन्त्री मोदीकी कट्टर आलोचक ममता बनर्जी यही नन्दीग्रामबाट उठेकी छिन्। गत वर्ष भाजपाका नेतालाई पराजित गरेका त्रिणमुल कङ्ग्रेसका नेता यसपटक ममता बनर्जीलाई छाडेर भाजपाबाट चुनाव लड्नु भएपछि वातावरण अझ तनावग्रस्त बनेको छ। बिहीबार नन्दीग्रामको मतदान केन्द्र बाहिर भेला भएका ठूलो संख्याका बनर्जीको पार्टी त्रिणमुल कङ्ग्रेस र भाजपाका समर्थक कार्यकर्ताबीच झडप भएका छन्। निर्वाचन आयोगले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाए पनि दुबै दलले त्यसलाई अवज्ञा गरेका छन्।

पश्चिम बङ्गालमा आठ चरणमा मतदान हुँदैछ र सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। आगामी अप्रिल २९ मा अन्तिम चरणको चुनाव हुनेछ। बिहीबार भइरहेको दोस्रो चरणको चुनावमा नन्दीग्राम सहित ३० वटा निर्वाचन क्षेत्र रहेका छन्। नौ करोडभन्दा बढी जनसंख्या रहेको पश्चिम बङ्गालमा करिब सात करोड ३० लाख योग्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। मतगणना आगामी मे २ मा हुनेछ। भारतमा हाल पश्चिम बङ्गाल सहित असम, केरला, तमिल नाडु र पुडुचरीमा विधान सभाको चुनाव हुँदैछ। असम राज्यमा तीन चरणमा निर्वाचन हुनेछ, जसको दोस्रो चरणको चुनाव हुँदैछ।

प्रकाशित: २० चैत्र २०७७ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App