१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिरासतमा रहेकी नेत्री सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ। झण्डै दुई महिनादेखि थुनामा रहेकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो।  

कूटनीतिक दबाब अत्यन्त धेरै परेपछि सुकीका वकिलहरुलाई भेट्न दिइएको थियो। उनीहरुले नै उनको अवस्था सामान्य नै रहेको जानकारी दिएका हुन्। म्यानमारका सेनाले शासन हातमा लिएर सुकीलगायतका नेताहरुलाई थुनामा राखेको छ। उनीहरुको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको थिएन।

सेनाले सत्ता हातमा लिएदेखि म्यानमारमा अहिलेसम्म पनि जनआन्दोलन चलिरहेको छ। आन्दोलनका क्रममा अहिलेसम्म ५२० भन्दा बढीको मृत्यु भइसकेको छ। निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाको भनाइ छ। यसअघि भएको निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै निर्वाचनको नतिजाप्रति सेनाले असन्तुष्टि र अविश्वास प्रकट गर्दै आएको थियो।

नवगठित संसद्को पहिलो बैठक बस्नै लागेको दिन गत फेब्रुअरी १ का दिन सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएको हो। सेनाको कदमको विरोध गर्दै अहिले म्यानमारका दैनिक हजारौँ आन्दोलनकारीले प्रदर्शन गर्ने गरेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सेनाको कदमको विरोध भइरहेको छ।

केहीदिन अगाडि आन्दोलनका क्रममा एकैदिन झण्डै १ सय जनाको मृत्यु भएपछि सैन्य सरकारको दमनको विश्वभरीबाट थप विरोध भइरहेको छ। सेनाको आलोच्य कदमका कारण कतिपय देशहरुले म्यानमारलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेका छन् भने कतिपयले अनिश्चितकालका लागि कुनै सहकार्य नगर्ने उद्घोष गरेका छन्।

प्रकाशित: १९ चैत्र २०७७ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App