२४ माघ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डब्लुएचओ टोली वुहान जान

कोरोना भाइरस कसरी जनावरबाट मानिसमा सर्‍यो अथवा सोचिएभन्दा अघि नै अन्य स्थानमा देखिएको थियो कि भनेर पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको एक अनुसन्धान टोली अर्काे महिना चीनको वुहान जाने भएको छ ।  

१० सदस्यीय टोलीका सदस्य तथा जर्मनीको रबर्ट कोच इन्स्टिच्युटका जीवशास्त्री फेबियन लिनडर्चले यो अनुसन्धानको अवधि चारदेखि पाँच साताको हुने र चिनियाँ वैज्ञानिकको सहकार्यमा अध्ययन गरिने अमेरिकी समाचार संस्था एपीलाई बताएका छन् ।  

धैरै वैज्ञानिक सार्स–कोभ–२ भाइरस चमेरो हुँदै मानिसमा सरेको मान्छन् । गत वर्षको डिसेम्बर अन्त्यमा वुहान सहरको एक समुद्री फुड मार्केटमा यो भाइरसको संक्रमणका भेटिएको थियो । यो भाइरसबाट हालसम्म ७ करोड ३४ लाख मानिस संक्रमित भएका छन् तीमध्ये १६ लाख ३० हजारको मृत्यु भएको छ ।  

अनुसन्धान टोलीले भण्डारण गरेर राखिएका मेडिकल स्याम्पल र महामारी सुरु हुनुअघि नै भाइरसको प्रसार भएनभएको थाहा पाउन एक्सरे रिपोर्टको अध्ययन गर्नेछ ।  

भाइरस सबैभन्दा पहिले कहाँ देखियो भनेर पत्ता लगाउन चमेरा र अन्य जनावरको नमुना पनि संकलन गरिने जीवशास्त्री लिनडर्चले बताए ।  

यो तथ्यांकको ट्र्याक गरेपछि भाइरसको उत्पत्ति वुहान वा अन्यत्र भएको भन्ने जानकारी हुने उनले बताए । लिनडर्चका अनुसार वुहानको समुद्री फुड बजार भाइरसको प्रसारका लागि पहिलो अथवा विभिन्न अन्य स्थानमध्ये एक हो भनेर थाहा पाउन अध्ययन सहयोगी हुनेछ । ‘यसको सबैभन्दा ठूलो उद्देश्य के भएको थियो भनेर अध्ययन गर्नु हो,’ उनले थपे, ‘यो भाइरस सुरुमा कुन जनावरबाट मानिसमा सर्‍यो भन्ने थाहा पाउनु अध्ययनको प्रमुख उद्देश्य हो ।’ कोरोना भाइरसको उत्पत्तिका विषयमा विभिन्न अड्कलबाजी र दोषारोपण भएका छन । विशेष गरी अमेरिका र चीनबीच कूटनीतिक विवाद नै भएको छ । 

सुरुमा यो भाइरसबारेको जानकारी चीनले लुकाएको, भाइरसबारे जानकारी दिने चिनियाँ नागरिकलाई पक्राउ गर्ने काम भएको, चिकित्सकलाई सजाय दिइएको र डब्लुएचओ तथा अन्य निकायलाई अनुसन्धान गर्न अनुमति दिन आनाकानी गरेको भन्ने कुरामा विवाद भएको हो । डब्लुएचओले भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषयमा अध्ययन गर्न गत जुलाईमा पहिलो अनुसन्धान टोली चीन पठाएको थियो । पछिल्लो समयमा चिनियाँ अधिकारी र सरकारी सञ्चारमाध्यमले भाइरसको उत्पत्ति चीनमा नभएको दाबी गर्दै आएका छन् । चीनको पिपुल्स डेलीले सबै प्रमाणले भाइरसको उत्पत्ति वुहानमा नभएको देखाएको उल्लेख गरेको छ ।  

तर डब्लुएचओका आपत्कालीन स्वास्थ्य सेवाका निर्देशक माइकल र्‍यानले भाइरस चीनमा उत्पत्ति नभएको विषय ‘अत्यधिक अनुमान’मा आधारित रहेको गत महिना बताएका थिए । ‘सुरुमा मानवमा देखिएको संक्रमणको केसबाट अनुसन्धान सुरु गर्नु जनस्वास्थ्यको हिसाबले पनि उचित हुन्छ,’ उनले भनेका थिए ।  त्यसो त सुरुका दिनमा डब्लुएचओले चीनको संरक्षण गरेको आरोप लागेको छ । डब्लुएचओले सुरुमा यो भाइरस मानिसबाट मानिसमा नसर्ने बताएको थियो । लिनडर्चका अनुसार चीनले यो अनुसन्धानमा कुनै व्यवधान गरेको छैन । ‘यो विषयले तथ्य पत्ता लगाउन र तथ्यांकका आधारमा भविष्यमा हुनसक्ने जोखिम घटाउन सहयोग हुनेछ,’ उनले भने । (गार्जियन)

प्रकाशित: २ पुस २०७७ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App